काठमाण्डु- स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मतदान जारी छ ।
नगरपालिकाको मेयर र दुई वडा अध्यक्षका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
गत निर्वाचनमा मेयरमा विजयी नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन भइरहेको छ ।
त्यहाँ कांग्रेसबाट कृष्णमान डंगोल उम्मेद्वार बनेका छन् भने एमालेले सुरेन्द्र मानन्धर, माओवादीले प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाबाट ध्रुव महर्जन चुनावी प्रतिष्पर्धामा छन् ।
गत स्थानीय चुनावमा कांग्रेस चुनाव जितेको थियो । किर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्ष पदकालागि मतदान शुरू भएको हो ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि पनि मतदान जारी छ ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आज उपनिर्वाचन भएको हो ।
गाउँपालिकाका अध्यक्ष पदको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । १५ जना विभित्र दलबाट उम्मेदवार छन् भने १ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यस गाउँपालिकामा ७ वटा वडा छन् । ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन्।ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समिति मोरङले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो ।
प्रतिक्रिया