संसदीय समितिमा मातृका यादव कड्किएपछि…

संसदीय समितिमा मातृका यादव कड्किएपछि…


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा असन्तुष्टी पोखेका छन् ।

बिहीबार बिहान बसेको बैठकमा मन्त्री यादवले संसदीय समितिले निर्णय गर्दा मन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै असन्तुष्टी जनाएका हुन् ।

औद्योगिक व्यवसाय विधेयकमा दफाबार छलफल गरी पारित गर्ने कार्यसूचीसहित बसेको बैठकमा मन्त्री यादवले सम्बन्धित विषयमा निर्णय गर्दा मन्त्रीको राय लिन पर्छ कि पर्दैन ? भनी प्रश्न उठाएका थिए ।

यसअघि भदौ २ गते समितिको बैठकमा आफू आउन नभ्याउने जानकारीसहित पत्र पठाए पनि उक्त दिन समितिको बैठक बसेकामा उनले आपत्ति जनाएका हुन् ।

समिति सभापति विमल श्रीवास्तवले बैठक सुरु गर्ने्िवत्तिकै मन्त्री यादवले मन्त्रीको उपस्थिति आवश्यक छ कि छैन भन्ने प्रश्न उठाएका हुन् । त्यसपछि सभापति श्रीवास्तवले समितिको पनि आफ्नो क्षेत्राधिकार रहेको भन्दै निर्णय गर्दा मन्त्री नै आवश्यक नपर्ने बताए ।

‘मन्त्रीज्यूले मनको बह राख्नुभयो । समितिको पनि आफ्नो क्षेत्राधिकार छ, सकेसम्म समितिले सबै पक्ष सरोकारवाला, मन्त्रीलाई राखेर निर्णय गर्ने हो, राय सबैको लिने हो, तर निर्णय गर्दा मन्त्रीलाई नै राख्नुपर्छ भन्ने बाध्यता छैन’ उनले भने ।

त्यसपछि रिसाएका मन्त्री यादवले बैठकबाट उठ्दै आफू यो विषय संसद बैठकमा समेत उठाउने चेतावनी दिए । उनले भने ‘मन्त्रीको आवश्यकता छैन भने म जान्छु, आवश्यक छैन भने आउँदिन, हाउसमा पनि यो कुरा उठाउँछु । म हिँडेँ ।’

त्यसपछि सिटबाट उठेका मन्त्री यादवलाई सांसदहरुले हाम्रो कुरा पनि सुन्नुस् भन्दै रोकेका थिए ।