काठमाण्डु– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रवार बेलुकादेखि बदली र वर्षा हुने सम्भावना छ ।
बिहीवार गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीवार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रवार बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । शुक्रवार बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।
शनिवार काठमाण्डु उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना छ । पुसे झरी हुने भएकाले चिसो बढ्दै जाने छ ।
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुनेछ ।
प्रतिक्रिया