आज र भोलि वर्षा र हिमपातको सम्भावना

आज र भोलि वर्षा र हिमपातको सम्भावना


काठमाण्डु-पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण आइतवारदेखि नै मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा मंगलवार कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै अरु प्रदेशका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ । सोमवार बेलुकीदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मंगलवार कोशी, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा पनि हल्का हिमपात हुने सम्भावना छ। महाशाखाले थोरै ठाउँभन्दा केही ठाउँ भनेको अलि धेरै क्षेत्र हो । वर्षा र हिमपातका कारण आज र भोलि चिसो बढ्ने भएकाले सावधानी अपनाउन आग्रह छ ।

यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।