आज देशैभर मौसम सफा रहने

आज देशैभर मौसम सफा रहने


काठमाण्डु-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार बिहीवार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

केही दिन देखि मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ ।
यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । बिहीवार पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबारदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो ।