काठमाण्डु – दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ ।
मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरी करीब २ महिनामा छायांकन सकिएको हो । फिल्मको छायांकन सकिएको अवसरमा निर्माण पक्षले केक काटेर खुशी साटेको थियो ।
आज शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले ‘इन्ड क्ल्याप’ गरेका थिए । फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईं लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाइ दिने बताए ।
फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सहनिर्माताको रूपमा राजु पराजुली, रमा प्रसाईं र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् ।
क्रियटिभ सिने आर्टस्को ब्यानरमा निर्माण भएको फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।
फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टीम भएकाले राम्रोसँग छायांकन सकियो, अब फिल्मको पोष्ट प्रोडक्सनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताए ।
प्रतिक्रिया