काठमाण्डु – काठमाण्डु मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगितामा मेयर ११ टिमले बागमती प्रदेशलाई दुई सय ४५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सन्दिप लामिछानेको मेयर ११ टिमले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ४४ रन बनायो । १६ रनमा पहिलो विकेट गुमाएको उसले ३७ रन बनाउँदा चार विकेट खेर फाल्यो ।
ओपनर हरिशंकर शाह ६ रनमा आउट भए भने अर्जुन कुमालले आठ रन मात्र बनाए । यस्तै विपिन रावल ११ रनमा पेभेलियन फर्किए । त्यसपछि कृष्ण कार्कीले खाता खोल्न नसक्दा विवेक यादव मात्र एक रनमा आउट भए । जसका कारण मेयर ११ ले ४३ रनमा पाँचौ विकेट गुमायो ।
तर छैटौं विकेटका लागि सन्दिप रजाइली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दा टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर लोहनी ३४ रनमा आउट भए । त्यसपछि सन्दिप रजाईलीपनि ३३ रनमा आउट हुँदा मेयर ११ ले एक सय १९ रनमा सातौं विकेट गुमायो ।
आठौं विकेटका लागि कप्तान लामिछाने र सौरभ खनालले ५७ रनको साझेदारी गर्दा टिमलाई सम्हाले । जसमा सन्दिपले २० बलमा विस्फोटक ४२ रन बनाए । उनले ६ छक्का प्रहार गरे ।
अन्तिममा सौरभ खनाल र विपिन क्षेत्रीलाई टिमका लागि ६० रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए । सौरभले अविजीत ४९ रन बनाए भने विपिनले ३२ रनको योगदान गरे । त्यस्तै बलिङमा नन्दन यादवले चार विकेट लिएका थिए ।
प्रतिक्रिया