काठमाडौं – अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत एसिया र एसिया प्रशान्त क्षेत्र हेर्ने उपसमितिका संयोजक अमि बेरा नेतृत्वको ४ सदस्यीय टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
पछिल्लो समय नेपालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयले चर्चा पाइरहेका बेला उक्त टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो ।
केही समयअगाडि एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न आएको टोलीले प्रधानमन्त्रीसँग एमसीसीका विषयमा छलफल गरेको बालुवाटार निकट स्रोतले बतायो ।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुले प्रधानमन्त्रीसँग नेपालको विकास र समृद्धीकोबारेमा चासो राखेको प्रतिक्रिया दिए ।
नेपालस्थित अमेरिकी दूतावासले भ्रमणको उद्देश्य अमेरिकी विदेश नीतिको प्रभावकारिता र नेपालमा दिएको सहयोगको मूल्यांकन गर्नु भएको उल्लेख गरेको छ ।
टोलीले हिजो नै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडासँग भेटघाट गरिसकेको छ । टोलीलाई अर्थ मन्त्रालयमा भेटेका अर्थमन्त्री खतिवडाले एमसिसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने बताएका थिए ।
प्रतिक्रिया