भारतमा १५६ फिक्स डोज संयोजित औषधि प्रतिबन्ध

भारतमा १५६ फिक्स डोज संयोजित औषधि प्रतिबन्ध


काठमाडौं-भारत सरकारले विभिन्न १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध लगाएको छ ।

मानिस स्वास्थ्यका लागि जोखिम हुनसक्ने भन्दै भारतीय सरकारले विभिन्न १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध लगाएको हो ।

निश्चित डोज संयोजन (एफडीसी) औषधिहरू, दुई वा बढी औषधिको संयोजन गरिएका हुन्छन् । तिनीहरूलाई ककटेल’ ड्रग पनि भनिन्छ । ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत औषधिहरूलाई प्रतिबन्ध गरिएको हो ।

औषधि र सौन्दर्य प्रसाधन ऐन १९४० को धारा २६ ‘ए’ अन्तर्गत यी औषधिहरूको उत्पादन, बिक्री र वितरण निषेध गर्ने सूचना राजपत्रमा जारी गरिएको छ । ‘यस विषयमा केन्द्र सरकार र डीटीएबीद्वारा गठित विशेषज्ञ समितिले जाँच गरे पछि यस्ता प्रकारका औषधिहरूलाई उत्पादन,बिक्री र वितरणमा निषेध गरिएको छ’, केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ ।

प्रतिबन्धको औषधिहरूको सूचीमा एसेक्लोफेनाक ५० एमजी +, पारा सिटामोल १२५ एमजी ट्याब्लेटसहित छ । यो ठूला कम्पनीहरूद्वारा निर्मित दुखाइ कम गर्ने औषधिहरूको रुपमा लोकप्रिय छ ।

सूचीमा मेफेनामिक एसिड पारासिटामोल इन्जेक्शन, सेटिरिजिन एचसीएल पारासिटामोल फेनिलेफ्राइन एचसीएल, लेभोसेटाइरिजिन फेनिलेफ्राइन एचसीएल पारासिटामोल, पारासिटामोल क्लोरफेनिरामाइन मेलेट फेनिल प्रोपानोलामाइन र क्यामिलोफिन डाइहाइड्रोक्लोराइड २५ मिलीग्राम तथा प्यारासिटामोल ३०० एमजी समावेश छन् ।

सरकारले पारासिटामोल, ट्रामाडोल, टोरिन र क्याफिनको मिश्रणमा पनि प्रतिबन्ध लगाएको छ । ट्रमाडोल ओपियोइड आधारित दुखाइ निवारक औषधि हो । यी विभिन्न औषधिको संयोजनबाट बनेका औषधिको प्रयोगले स्वास्थ्यलाई जोखिममा पार्ने सम्भावना छ, जबकि उक्त औषधिको सुरक्षित विकल्पहरू उपलब्ध छन् ।