मेलम्चीमा सीएमसीले अत्तो थापेपछि खानेपानी मन्त्रीले गुहारिन परराष्ट्रमन्त्रीलाई

मेलम्चीमा सीएमसीले अत्तो थापेपछि खानेपानी मन्त्रीले गुहारिन परराष्ट्रमन्त्रीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजना निर्माणको विषयमा सृजित विवाद समाधानका लागि कुटनीतिक पहलका लागि खानेपानीमन्त्री बिना मगरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरेकी छिन्।

निर्माणको ठेक्का पाएको इटालियन कम्पनीले मागदाबी गरेको रकममा नेपाल सरकारले अस्वीकार गर्दा कम्पनीले निर्माणमा अवरोध गरिरहेका बेला मन्त्री मगरले परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट गरेकी हुन्।

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी–रेभिनाले खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीब्रता नदिएपछि इटालीको सरकारसँग कुटनीतिक पहल गर्न अनुरोध गरिएको हो ।

खानेपानी मन्त्री बीना मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग बिहीबार भेट गर्दै कुटनीतिक रुपमा इटली सरकारमार्फत निर्माण कम्पनीसँग सहजीकरणका लागि पहल गरिदिन आग्रहल गरेकी थिइन् ।

ठेकेदारले आफैले सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको र बारम्बार झूटा प्रतिबद्धता मात्रै व्यक्त गरेको कारण इटाली सरकारप्रति समेत नकारात्मक धारणा विकास हुने भएकाले तत्काल इटाली सरकारसँग कुटनीतिक सम्वाद गरी निर्माण कम्पनीलाई थप दबाब दिन जरुरी रहेको मन्त्री मगरले बताइन् ।

मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा यसबारेमा चासो व्यक्त गराउन नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गरिन् ।

भेटमा खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले चैत्र २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ब्रेक थ्रु भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने ठेकेदारको प्रतिबद्धता र त्यसपछि सबै पक्षमा मिलेर अगस्त महिनाको ३० तारिखसम्म सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजनाको बारेमा परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए ।

सचिव बिसीले ठेकेदार कम्पनीले मागदावी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकाले उक्त विषयलाई नजोडी उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति व्यक्त गरेको भएपनि नियतवश काम नगरेकाले दिल्लिस्थित इटालीको राजदूतावासमार्फत् नेपाल सरकारको धारणा इटाली सरकारसमक्ष लैजान परराष्ट्रमन्त्रीलाई आग्रह गरेका थिए ।

खानेपानी मन्त्रालयको अनुरोधमा सकारात्मक प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री ज्ञवालीले यस विषयमा बिस्तृतमा छलफल गरेर इटाली दुतावासमा कुराकानी गर्ने बताए । मेलम्ची खानेपानी आयोजना सबै नेपालीको गौरवको आयोजना भएकाले यसलाई समयमा नै सम्पन्न गर्न दिल्लीस्थित इटाली दूतावासमा आवश्यक पहल गर्ने र यसमा मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता मन्त्री ज्ञवालीले व्यक्त गरे ।

इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का कार्य शुरु गरेको थियो । कम्पनीको ठेक्का म्याद यही जुन १४ गते समाप्त हुन गइरहेको छ । आयोजनाको मुख्य कार्य भनिएको सुरुङ ब्रेक थ्रुको काम सम्पन्न भएपनि अन्य मूख्य कार्यहरु, सुरुङभित्रको फिनिसिङ कार्र्य, हेडवक्र्स निर्माण, भेन्टिलेसन साफ्ट जडान लगायतका कामहरु भने अझै बाँकी नै छन् ।

ठेकेदारले कार्ययोजनाअनुरुप आफ्नो पूर्ण क्षमताअनुरुप कार्य सम्पन्न गरेको खण्डमा अगस्त ३० भित्र नै मेलम्चीको पानी सुन्दरीजलमा पठाउन सकिने मन्त्रालयको भनाइ छ ।