वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट


काठमाण्डु – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिर्वतनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताएका मन्त्रालयले जनाएको छ ।

मन्त्री शाहीले दोधाराचाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताए ।

राजदूत श्रीवास्तवले दोधाराचाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा २ देशबीच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्ययन भइरहेको जानकारी गराएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले भारतीय सहयोगमा नेपालमा भौतिक पूर्वाधार निर्माण, क्षमता विकास तालिम लगायत सहयोगका कार्यक्रम हुँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने जानकारी मन्त्री शाहीलाई दिएका थिए ।