जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता


काठमाण्डु – अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो जेनेभामा भेटवार्ता भएको छ ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रूपमा रहने बताए । २ देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालले बताए ।

सन् २०२२ मा चिनियाँ जनकंग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले २ देशबीचका संसदको सहकार्यले एकअर्काका अनुभव आदानप्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताए ।

नेपालको विकासमा चीनको सहयोग रहँदै आएको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अझै सहयोगको मात्रा बढ्ने आफूहरूले विश्वास लिएको बताए । उनले भने, ‘नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्य लिएको छ । यस लक्ष्यलाई दीगो, अपरिवर्तनीय र सहज बनाउन मित्रराष्ट्रहरूको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको छ । यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीलाई विश्वास छ ।’

२ देशबीच आपसी हितका विषयहरूमा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनकंग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताए । २ देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र २ देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताए ।

चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष थ्यानले बीआरआईमार्फत सडक, रेल्वे लगायतका पूर्वाधार विकासका योजनाहरूमा सहयोग गर्न चाहेको बताए ।

भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिको सहभागिता थियो ।