प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् बैठक जारी

प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औं बैठक सुरु भएको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने, विपद् पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्नेसहित ७ प्रस्ताव रहेका छन् ।

बैठकमा २०८० कात्तिक १९ पछिको सम्पूर्ण विपद्का घटनाहरूको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवं खोज तथा उद्धारका क्रममा खटिई मुत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद् पश्चातको खोज, उद्धार तथा राहत वितरण लगायतका कार्यमा संलग्न सबै व्यक्ति एवं संघसंस्थाहरूलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची रहेको छ ।

बैठकमा परिषद्का सदस्यहरू उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख लगायत सहभागी छन् भने परिषद् सदस्य रहेका प्रमुख विपक्षी दलका नेता उपस्थित भएका छैनन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्य सचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित २५० जनाको मृत्यु भएको बताए । उनले प्रारम्भिक अध्ययनमा ४६ अर्ब बराबरको क्षति भएको जानकारी गराए ।

नेपाल सरकारले विपद्बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ ।