काठमाण्डु – उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटन लगायतका विषयमा छलफल भएको छ ।
उपराष्ट्रपति यादवले उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–फिनल्याण्ड सम्बन्धका आधारस्तम्भ भएको बताए ।
‘सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएपश्चात् २ देशबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति म खुशी व्यक्त गर्दछु,’ उनले भने, ‘यस वर्ष हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ भएको थाहा पाउँदा म हर्षित छु । हाम्रा २ देशको सम्बन्धले नयाँ उचाइ पार गर्दै जाओस् भन्ने कामना गर्दछु ।’
उपराष्ट्रपति यादवले फिनल्याण्ड नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै हाल फिनिस विकास सहायता नेपालको प्राथमिकताका विषयहरु–गरिबी निवारण, वातावरणीय दीगोपना, दैवी प्रकोप न्यूनीकरण, मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन तथा सहभागितामूलक शासन व्यवस्थातर्फ लक्षित रहेकोमा खुशी समेत व्यक्त गरे ।
उनले आगामी २७ नोभेम्बरमा फिनल्याण्डको स्वतन्त्रता दिवस र नेपाल–फिनल्याण्ड कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठको अवसरमा काठमाण्डुमा आयोजना गरिने समारोहबारे जानकारी पाउँदा अत्यन्त खुशी लागेको बताउँदै स्वतन्त्रता दिवसको अवसरमा फिनल्याण्ड सरकार र जनतालाई हार्दिक बधाई व्यक्त गरेका छन् ।
नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले नेपालका लागि विकास सहायताको दृष्टिकोणले यो वर्ष राम्रो रहेको बताएकी छन् ।
प्रतिक्रिया