मधेश केन्द्रित दलबीच २ बुँदामा सहमति

मधेश केन्द्रित दलबीच २ बुँदामा सहमति


काठमाण्डु – मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकमा २ बुँदामा सहमति जुटेको छ ।

काठमाण्डुको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा मंगलबार दिउँसो भएको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकमा सरकारको काम र आगामी रणनीतिको विषयमा छलफल भएको जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए ।

बैठकले संविधान संशोधनमा साझा धारणा बनाउने र वार्ता समितिलाई सक्रिय बनाउने २ बुँदे सहमति गरेको छ । संविधान संशोधन गर्दा मधेशका मुद्दालाई सशक्त रूपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेको उनले बताए ।

‘विभिन्न कारणवश मधेश केन्द्रित दलहरू विभाजित भएकाले अब सहकार्य गर्ने प्रण गरिएको छ । वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने सहमति भएको छ,’ उनले भने, ‘आज प्रारम्भिक बैठक मात्रै हो, आगामी बैठकमा साझा एजेण्डा तय हुन्छ, साझा विचार आइहाल्छ, सहकार्यलाई सार्थक बनाउन बैठक नियमित बस्छौं ।’

देशलाई २ दलीय प्रणालीमा लैजाने विषय उठाउँदा देशलाई नै असर गर्ने बैठकको ठहर छ । उनले भने, ‘बैठकमा सत्तारुढ दलहरूले २ दलीय प्रणाली लैजाने विषय उठाउँदा देशलाई नै असर गर्ने काम भइरहेका छन्, थ्रेसहोल्डका कुरा उठाइएको छ । यो विषयमा पनि आगामी दिनमा छलफल हुन्छ ।’

मधेश केन्द्रित दलहरू अब मोर्चा बनाएर अघि बढ्ने भन्दै उनले आगामी बैठकमा साझा एजेण्डा तयार गरिने बताए । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई–मधेश केन्द्रित दल सहभागी थिए ।

बैठकमा जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्यहरू उपाध्यक्ष डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव, जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृजकिशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेता सहभागी थिए ।