काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउनका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस गर्ने समिति बनाउन ३ दलका शीर्ष नेताबीच सहमति जुटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अग्नि खरेलले नेपाल सरकारले गठन गर्ने दुवै आयोगको नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको जानकारी दिए ।
उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा (३) बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति, सहज कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालिएको छ । अब गठन प्रक्रिया अगाडि बढ्छ ।’
यसअघि संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्क हुन नसक्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन नसकेको गुनासो गरेका थिए ।
सोमबारको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरू सहभागी थिए ।
प्रतिक्रिया