काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गरेका छन् ।
मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्ने आग्रह गरे ।
उनले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौं ।’
मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर थप बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए ।
उनले भने, ‘भूकम्प लगायत विभिन्न प्राकृतिक विपद्मा जापानी जनता, सरकार, गैरसरकारी संस्था र विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्त्व दिँदै आएको छ ।’
मन्त्री यादवले जापान सरकारले विगतदेखि नेपालका खानेपानी परियोजनामा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाण्डुको महाङ्काल चौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए ।
पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको सहयोग रहेको भन्दै उनले जापान सरकारलाई विशेष धन्यवाद दिए ।
राजदूत तोरूले जापान सरकार नेपालमा विगतदेखि विभिन्न विकासका परियोजनामा संलग्न रहँदै आएको बताउँदै आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौं,’ उनले भने ।
प्रतिक्रिया