काठमाण्डु – थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीसँग बिहीबार बैंककमा भेटवार्ता गरेका छन् ।
भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डल समेत सहभागी भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमि भएको उल्लेख गर्दै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानूनहरू संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने बताए ।
उनले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए ।
भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानूनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरूले त्यो सम्भावनाबाट फाइदा लिन सक्ने बताए ।
उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराए । ‘नेपाल लगानीको लागि पर्याप्त सम्भावना भएको मुलुक हो । पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आर्कषित गर्ने अवस्था छ । निजी क्षेत्रको तर्फबाट पनि म थाई व्यवसायीहरूलाई लगानीका लागि आग्रह गर्दछु,’ अध्यक्ष ढकालले भने ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा छ । नेपाल र थाइल्याण्डबीच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया