काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य यूएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् ।
अबुधाबीमा स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली यूएईमा कार्यरत रहेको भन्दै नेपालीको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र यूएई सरकारबाट समेत स्वास्थ्य रक्षाका लागि सहयोगको अपेक्षा गरेको बताए ।
उनले प्रस्थान गर्नुअघि तथा फर्केपश्चात सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरे । मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मिर्गाैला डायलसिस केन्द्रहरूको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे ।
यूएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र २ देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए ।
यूएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै उनले नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन यूएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानूनी आधार तयार हुन आवश्यक रहेको समेत बताएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्री समेत सहभागी थिए ।
मन्त्री पौडेल आईतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने दूतावासले जनाएको छ ।
प्रतिक्रिया