काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
काठमाण्डुको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको विविध आयामबारे संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयू) बीच सन् १९७४ देखि स्थापित मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए । ‘नेपाल र ईयूबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु,’ उनले भने, ‘ईयू नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ लगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघ समर्थित कार्यक्रमको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा इयुको सहयोग अन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्याएको सुनाए ।
‘सगरमाथा संवाद’को महत्त्वबारे चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६–१८, २०२५ मा काठमाण्डुमा हुने जानकारी गराएका छन् ।
नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली संघबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको बताइन् । ‘युरोपेली संघ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ,’ उनले भनिन् ।
राजदूत लोरेन्जोले दूधकोशी हाइड्रोपावरमा ईयू लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेश प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेश प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
प्रतिक्रिया