उर्जामन्त्रीसँग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलकाे भेट : नेपालको विकासमा बेलायत सहयोग गर्न इच्छुक

उर्जामन्त्रीसँग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलकाे भेट : नेपालको विकासमा बेलायत सहयोग गर्न इच्छुक


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा आईतबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको हाे ।

नेपालको संघिय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन् । भेटमा उर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देशको विचमा सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरे ।

बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको सहयोग निकै महत्वपुर्ण रहेको समेत बताउँदै  मन्त्री पुनले ब्रिटिस संसदीय प्रतिनिधिमण्डलसंगको भेटमा उर्जा,जलस्रोत र सिंचाईको क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा राखेका थिए ।

भेटमा मन्त्री पुनले उर्जामन्त्रालयको १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने योजना रहेको भन्दै त्यसको लागी राष्ट्रिय र अर्न्तराष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताए। ‘अहिले हामीसंग १ हजार मेगावाट मात्र विजुली उत्पादन हुन्छ, तर, हामीसंग १ लाख मेगावाट उत्पादन गर्ने क्षमता छ । १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादनको लक्ष्य पुरा गर्नको लागी हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ ।’ मन्त्री पुनले भने।

नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले आग्रह गरे ।

भेटमा बेलायती सांसदहरुले नेपालको उर्जा, सौर्य उर्जा र जलस्रोतको क्षेत्रमा सरकारको निती र योजनाबारे चांसो राखेका थिए । बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राखेका थिए । उनले बेलायत युरोपियन युनियनबाट अलग भएपछि यस्ता खालका द्धिपक्षिय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजवुत बन्ने धारणा राखे ।

भेटमा बेलायती सांसदहरुले नेपालमा विजुलीको अवस्था, जलविद्यूतले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागी सरकारले अघि सारेका कदमहरुको बारेमा समेत चासो राखेका थिए । भ्रमण दलमा बेलायती सांसदहरु डेभिड मोरिस, विरेन्द्र शर्मा, केरी मेकर्थी,लोर्ड बाल्फे र लोर्ड ढोलकिया रहेका छन् ।