काठमाण्डुवासीले घटस्थापनाअघि मेलम्चीको पानी पाउँछन् : मन्त्री यादव

काठमाण्डुवासीले घटस्थापनाअघि मेलम्चीको पानी पाउँछन् : मन्त्री यादव


काठमाण्डु – काठमाण्डुवासीले दशैंको घटस्थापनाअघि नै मेलम्चीको पानी पाउने भएका छन् ।

काठमाण्डुमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

दशैं अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिए । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाण्डुमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साताभित्रै काठमाण्डुमा ल्याउने तयारीमा छौं ।’ सोही योजनाअनुसार अहिले काठमाण्डुमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ । बर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाण्डु उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो ।

बाढीको सम्भावना कम भएसँगै काठमाण्डुमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ ।

काठमाण्डु उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करीब २० करोड लिटर पानी ल्याउन लागिएको छ । काठमाण्डुमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८०० मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । मेलम्ची खानेपानीका लागि काठमाण्डु उपत्यकामा १ हजार ७ सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ ।