मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने

मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने


एजेन्सी- फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध भएका स्टार खेलाडी लियोनल मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका छन् ।

स्पेनी क्लब बार्सिलोनामा रहन असफल भएपछि अर्जेन्टिनी मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन्सँग कम्तिमा दुई वर्षको सम्झौता गरेका हुन् । तेस्रो वर्ष पनि उनले विकल्प प्रयोग गर्न सक्नेछन् ।

२१ वर्षसम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सीले १० नम्बरको जर्सी लगाउँदै आएका थिए । तर पीएसजीमा १० नम्बरको जर्सी नेइमारले लगाउँदै आएका छन् ।  नेइमारले १० नम्बर जर्सी दिन तयार भए पनि मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका हुन् ।

मेस्सीलाई इतिहासकै सर्वकालीन महान खेलाडीको रुपमा मानिन्छ । १३ वर्षको उमेरमा बार्सिलोना अनुबन्ध भएयता उनले त्यहाँबाट सबै उपलब्धी हासिल गरेका छन् । उनले ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन् । क्लबका लागि ३५ वटा उपाधि जितेका छन् र कीर्तिमानी ६ पल्ट बेलोन डी’ओरको अवार्ड पाएका छन् ।