एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित, मेस्सी र स्वारेजको गोल

एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित, मेस्सी र स्वारेजको गोल


एजेन्सी – शनिबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई २–० गोलले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाको उपाधियात्रा थप सहज बनेको छ ।

स्टार खेलाडीद्वय लियोनल मेस्सी र लुईस स्वारेजले एक/एक गोल गरेपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि सानदार जित हात पारेको हो ।

पहिलो हाफसम्म बराबरीमा रोकेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल खान पुग्यो । घरेलु मैदानमा बार्सिलोनाले खेलको अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गरेको हो ।

स्वारेजले ८५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसलगत्तै मेस्सीले गोल गर्दै बार्सिलोनाको जित सहज बनाएका हुन् ।

यसअघि २८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । डिएगो कोस्टा रातो कार्ड खाँदै बाहिरिएपछि एट्लेटिकोमाथि बार्सिलोना हावी भएको थियो ।

जितसँगै बार्सिलोनाले ३१ खेलबाट ७३ अंक बनाएको छ । एट्लेटिकोको ६२ अंक छ ।