काठमाण्डु – फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्मा अविश्वासको प्रस्तावविरूद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् ।
उनले बिहीबार इमानुएल म्याक्रोंलाई भेटी राजीनामा दिएको तर उनलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोंले आग्रह गरेका छन् ।
समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ बजे एलिसी प्यालेस पुगेका थिए ।
बुधबार बहुमत सांसदले वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।
प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो ।
राष्ट्रपति म्याक्रोंले स्थानीय समयअनुसार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया