के ट्रम्पले ‘आप्रवासीरहित अमेरिका’ बनाउन लागेका हुन् ?

के ट्रम्पले ‘आप्रवासीरहित अमेरिका’ बनाउन लागेका हुन् ?


काठमाण्डु-डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि अमेरिकमा रहेका आप्रावासीहरू सबैभन्दा बढी चिन्तित देखिएका छन् ।

राष्ट्रपतिमा निर्वाचि हुनुअघि ट्रम्पले आफ्ना चुनावी अभियानमा अमेरिकामा बसेका दशौँ लाख आप्रवासीलाई देश निकाला गर्न सकिने संकेत गरेका थिए । ‘हाम्रो देशको इतिहासमा हामी अहिलेसम्मकै विशाल देशनिकाला गर्दै छौँ,’ चुनावी अभियानका क्रममा भएको एउटा पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए ।

उपराष्ट्रपति पदमा निर्वाचित जेडी भान्सले एबीसी न्यूजसँगको एउटा ताजा अन्तर्वार्तामा त्यसबारे केही स्पष्ट पार्दै पनि भनेका छन्, ‘१० लाखबाट सुरु गरौँ…। त्यसपछि हामी अझ अघि बढ्न सक्छौँ ।’

यद्यपि विज्ञहरूले त्यस्तो व्यापक अभियानले ठूला कानुनी र व्यवस्थापकीय समस्या खेप्नुपर्ने सामना गर्ने बताउँ छन् ।

अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको ताजा तथ्याङ्कका अनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै एक करोड १० लाख अप्रमाणित आप्रवासीहरू छन् । उक्त संख्या अमेरिकाको कुल जनसंख्याको झन्डै ३.३ प्रतिशत हो ।

सन् २००५ यता उक्त संख्या तुलनात्मक रूपमा स्थिर छ । यद्यपि प्यूले आधिकारिक तथ्याङ्कमा केही पक्ष प्रतिबिम्बित हुन नसक्ने चेतावनी दिएको छ । यो तथ्याङ्कमा क्युबा, भेनेजुएला, हेइटी र निकारागुआका मानवीय आधारमा अनुमति पाएका पाँच लाख आप्रवासीहरूसँग सम्बन्धित विवरण छुटेको हुन सक्छ । धेरैजसो अप्रमाणित आप्रवासीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । तीमध्ये झन्डै ८० प्रतिशत मानिस अमेरिकामा एक दशकभन्दा बढी समयदेखि बस्नेहरू छन् र झन्डै आधाजसो मेक्सिकोका छन् । त्यसपछि ग्वाटेमाला, एल सासल्भाडोर र होन्डुरसका छन् । उनीहरू मुख्यतः क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा, न्यूयोर्क, न्यूजर्सी र इलिनोई राज्यमा बसोबास गरिरहेका छन् ।

कानुनी मामिला निरूपण गर्न अप्रमाणित आप्रवासीहरूसँग कानुनी प्रकिया अनुसरण गर्ने र त्यति बेलासम्म आफूसँग राम्रो व्यवहार गरिनुपर्ने अधिकार हुन्छ । त्यसमा देशनिकाला हुनुअघि अदालतमा सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

देशनिकाला गर्ने संख्यामा ठूलो वृद्धि गर्न आप्रवासनसम्बन्धी विषय हेर्ने न्यायिक प्रणालीमा व्यापक विस्तार गर्नुपर्ने हुन्छ ।

ट्रम्पको अभियानले सुरक्षित सहरविरुद्ध कारबाही थाल्ने वाचा गरेको छ । तर अमेरिकाका स्थानीय, राज्य र सङ्घीय कानुनहरूका कारण उत्पन्न जटिलताबाट अप्ठ्यारो परिस्थिति बनेको छ ।

माइग्रेशन पलिसी इन्स्टिट्यूट (एमपीआई) नामक थिङ्क–ट्याङ्कमा कार्यरत नीति विश्लेषक क्याथलीन बुश–जोसेफले आईसीई र स्थानीय अधिकारीहरूको सहकार्यमा जोड दिँदै त्यो ठूलो संख्यामा आप्रवासीलाई देशनिकाला गर्ने योजनाका लागि महत्वपूर्ण हुने बताइन् ।

तर बुश–जोसेफका अनुसार ट्रम्पले थाल्ने सामूहिक देशनिकालालाई धेरैले सहयोग गर्ने छैनन् । उनले फ्लोरिडाको ब्रोवर्ड र पाम बीच काउन्टीका कानुन कार्यान्वयन गराउने निकायका घोषणापत्रबारे उद्धृत गर्दै तिनले त्यस्तो काममा सहायता गर्ने कर्मचारी नपठाउने जनाएको बताइन् ।

सामूहिक देशनिकालाको योजनाविरुद्ध तत्कालै अध्यागमन र मानव अधिकार पैरवीकर्ताबाट मुद्दा पर्ने सम्भावना छ ।

यद्यपि सन् २०२२ को सर्वोच्च अदालतको एउटा आदेशले मुद्दा चलिरहेको छ भने पनि अध्यागमनसम्बन्धी कामलाई निरन्तरता दिने अनुमति प्रदान गरेको छ । सरकारले वैधानिक रूपमै त्यस्तो कारबाही थाल्यो भने पनि सरकारी निकायहरूले अमेरिकाको सीमा र देशभित्र पनि ठूलो व्यवस्थापकीय चुनौती खेप्नुपर्ने छ ।

बाइडन प्रशासन सीमामा पक्राउ परेका मानिसहरूलाई फिर्ता गराउन केन्द्रित भयो । गत दशकमा अमेरिकाभित्रबाट देशनिकाला भएका आप्रवासीहरूको वार्षिक संख्या एक लाख जनाभन्दा कम छ । यसअघि ओबामा प्रशासनको समयमा त्यो संख्या वार्षिक २,३०,००० सम्म पुगेको थियो ।

यो वर्षको सुरुमा टाइम पत्रिकालाई दिएको अन्तर्वार्तामा ट्रम्पले आप्रवासीलाई पक्राउ गरेर राख्ने नयाँ केन्द्रहरू स्थापना गर्ने, प्रहरीलाई अभियोजनबाट उन्मुक्ति दिने र सहकार्यका लागि लागि प्रोत्साहन दिने सङ्केत गरेका थिए ।

कडा अध्यागमन नियमनको वकालत गर्ने नम्बर्सयूएसएका अनुसन्धान निर्देशक एरिक रुआर्क सीमामा कडाइ हुनुपर्ने तर्क गर्छन् । दश लाख वा त्यसभन्दा बढी मानिसलाई देशनिकाला गर्न अर्बौँदेखि खर्बौँ डलर खर्च लाग्ने अनुमान विज्ञहरूले गरेका छन् ।

सन् २०२३ मा परिवहन र देशनिकालाका लागि आईसीईसँग ४२.२ करोड डलर बजेट थियो । त्यो वर्ष उक्त निकायले १,४०,००० जनाभन्दा बढी मानिसलाई अमेरिकाबाट निकालेको थियो ।

नियन्त्रण केन्द्रहरू बनाउन तथा आप्रवसीहरूलाई अमेरिकाबाट निकाला गर्न उडानहरूको संख्या बढाउन पनि ठूलो लगानी चाहिन्छ । राइश्लिन–मेल्निकका अनुसार त्यस्तो खर्च करोडौँदेखि अर्बौँ डलर पुग्न सक्छ ।

ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा बनाउन थालिएको पर्खाल पूरा गर्ने, ‘फेन्टनिल’को तस्करी रोक्न समुद्रमा नाकाबन्दी गर्ने र हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने जस्ता वाचा पनि गरेका छन् । ती सबैका लागि साधन र स्रोत चाहिन्छ ।

वाशिङ्टन अफिस अन ल्याटिन अमेरिकामा कार्यरत आप्रवासन तथा सीमासम्बन्धी विषयका विशेषज्ञ एडम आइज्याक्सनका अनुसार सामूहिक देशनिकालाको भयावह परिदृश्य ट्रम्प प्रशासनका लागि जनसम्पर्कको दृष्टिकोणबाट पनि हानिकारक बन्न सक्छ ।

ट्रम्पको पहिलो चारवर्षे कार्यकालमा झन्डै १५ लाख जनालाई अमेरिकाबाट देशनिकाला गरिएको थियो । बाइडन प्रशासनले अमेरिकाबाट बाहिर निकालेका विदेशी आप्रवासीको संख्यामा पनि त्यसको छेउछाउ पुग्न लागेको छ ।

बाराक ओबामाका दुई कार्यकालमा ३० लाख जनाभन्दा बढी आप्रवासीहरूलाई अमेरिकाले निकाला गरेको थियो । आप्रवासन सुधारका पैरवीकर्ताहरूले उनलाई ‘डिपोर्टर–इन–चीफ’ अर्थात् ‘देशनिकाला गर्ने प्रमुख व्यक्ति’को सङ्ज्ञा दिएका थिए ।

आधुनिक अमेरिकाको इतिहास हेर्ने हो भने सन् १९५४ मा सम्भवतः सबैभन्दा ठूलो सामूहिक देशनिकाला भएको थियो । त्यस वर्ष ‘अपरेशन वेटब्याक’ अन्तर्गत १३ लाख जनालाई अमेरिकाको सीमाबाट बाहिर पठाइएको थियो । मेक्सिकोका मानिसहरूलाई अपमानपूर्वक भनिने शब्दबाट उक्त अभियानको नाम राखिएको थियो ।

उक्त अभियानले सार्वजनिक विरोध पनि खेप्नुप¥यो । किनभने केही अमेरिकी नागरिकहरू पनि देशनिकालामा परे र खर्चको विषय पनि उठ्यो । सन् १९५५ मा यो अभियान टुङ्गियो ।

आप्रवासनविज्ञहरू उक्त अभियानलाई देशनिकाला गर्ने अहिलेका प्रयासहरूसँग तुलना गर्न नमिल्ने तर्क गर्छन् । उनीहरूका अनुसार उक्त कारबाही परिवार भएका र टाढाका अन्य देशबाट आएका मानिसहरूप्रति नभई मेक्सिकोबाट एक्लै आएका पुरुषहरूप्रति लक्षित थियो ।