सेनाले भन्यो–त्रिचन्द्र सैनिक अस्पतालको ‘जि प्लस सात’ तल्ले भवन आयमूलकमा प्रयोग

सेनाले भन्यो–त्रिचन्द्र सैनिक अस्पतालको ‘जि प्लस सात’ तल्ले भवन आयमूलकमा प्रयोग


काठमाडौं– नेपाली सेनाले काठमाडौंको महाँकालमा रहेको त्रिचन्द्र मिलिटरी हस्पिटलका लागि बनाइएको भवनबारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

 

सेनाले व्यापारिक प्रयोजनका लागि अत्याधुनिक भवन बनाएको भन्दै तीव्र विरोध भइरहेका बेला सेनाले बुधबार विज्ञप्ति जारी गरी निर्माणाधिन भवनको केही भाग आयमूलक कार्यमा उपयोग गर्न लागिएको जनाएको हो।

 

‘नेपाली सेनाको कल्याणकारी कोष, सकलदर्जाका सैनिकहरुको शान्ति सेनामा सहभागिता वापत आर्जित रकमको केही भाग संकलन गरी संचालन भएको, एवं कोषको अन्य आय श्रोत नभएको हुँदा आय आर्जनको श्रोत विविधिकरण गर्न सक्ने व्यवस्था सैनिक सैनिक ऐन २०६३ को दफा २ को (द) र दफा ३१ को (ङ) तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ मा उल्लेख भए अनुसार कल्याणकारी कार्यहरुको निरन्तरताको लागि निर्माणाधिन भवनको केही भाग आयमूलक कार्यमा उपयोग गर्न लागिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

 

 

त्रि–चन्द्र मिलिटरी अस्पतालले चर्चेको भाग अस्पतालको ऐतिहासिक मर्म र अस्तित्व कायम रहने गरी निर्माण सम्पन्न भए पश्चात सैनिक कल्याणकारी योजनाका हिताधिकारीहरुको स्वास्थ्योपचार कार्य मै प्रयोग गरिने सेनाले दाबी गरेको छ ।

 

 

सेनाले प्रारम्भमा ‘जि प्लस चौध’ तल्लाको भवन निर्माण गर्ने योजना बनाएको थियो। तर, भुकम्पीय जोखिम न्यूनिकरण तथा सुरक्षा संवेदनशीलतालाई समेत दृष्टिगत गरी प्राविधिकहरुबाट डिजाईनमा पुनरावलोकन गर्दै मिति २०७३ जेठ २० गतेको सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समितिको बैठकबाट निर्णय भएनुसार ‘जि प्लस सात’ तल्ले भवन निर्माणको अन्तिम चरणमा रहेको सेनाले बताएको छ।

 

 

उक्त भवनको नक्सा पास भएको छैन। सेनाले भने नक्सा र डिजाईन बारे सम्बन्धित निकायसँग समन्वय भइरहेको दाबी गरेको छ।

 

 

बहालवाला तथा अवकाशप्राप्त सैनिक र आश्रित परिवारको लागि संचालित छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको बेड संख्या ४९३ लाई बढाई ६३५ पु¥याईएको छ। सोही हाताभित्र थप सुविधा सहित अत्याधुनिक परिवार वहिरंग भवन (फेमेली ओपिडि विल्डिङ) संचालनमा आईसकेकोले दुई स्थानमा अस्पताल संचालन हुँदा जनशक्ति र उपकरणलाई दृष्टिगत गरी आर्थिक भार बढ्न सेनाको तर्क छ।

 

 

 

‘निर्माणाधिन भवनको केही भाग प्रतिस्पर्धात्मक रुपमा आयमूलक कार्यको लागि प्रयोग गरी प्राप्त आम्दानीको सदुपयोग गर्दै औषधोपचार सेवा सुविधालाई क्रमश विकेन्द्रिकरण गर्दै लैजाने योजना अनुरुप प्रदेश नं. ५ को नेपालगञ्जमा, प्रदेश नं. ४ को पोखरा र प्रदेश नं. १ को इटहरीमा क्षेत्रिय सैनिक अस्पताल निर्माण कार्य भईरहेको छ। प्रदेश नं. २ र ७ मा समेत सेवा विस्तार गर्ने योजना रहेको छ । जसले गर्दा हिताधिकारीहरुलाई उपचारको लागि केन्द्रमा धाईराख्न जरुरत पर्ने छैन्,’ विज्ञप्तिमा भनिएको छ। 

 

 

तस्बिर : रवि महर्जन। सेतोपाटी डटकमबाट साभार