काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयको प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले खर्च बढाउन निर्देशन दिए ।
कार्यक्रममा उनले भने, ‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैले समीक्षा गरौं । स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रूपमा हामी विकास गराऔं ।’
मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचार लगायतका सुविधामा कमसेकम भार पर्ने गरी काम गरिएको बताए ।
‘पपुलिस्ट हुन निर्णय गरेका हैनौं,’ उनले भने, ‘आमनागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरेका छन् ।
उनले भने, ‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो । खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’
प्रतिक्रिया