उद्योगमन्त्री मातृका यादवले मन्त्रालयमै बोलाएर उद्योगीको झाँको झारे

उद्योगमन्त्री मातृका यादवले मन्त्रालयमै बोलाएर उद्योगीको झाँको झारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ – उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले उखु किसानलाई तुरुन्त भुक्तानी नदिए चिनी उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। कृषिमन्त्री चक्रपाणी खनालको समेत उपस्थितिमा उद्योग मन्त्रालयमा शनिबार भएको छलफलमा मन्त्री यादवले किसानको उखुको भुक्तानी रोके ठगी मुद्धामा उद्योगीलाई कार्वाही गर्ने चेतावनी दिएका हुन्।

छलफलमा दुवै मन्त्रालयका सचिव, चिनी उद्योगी, सर्लाहीका सांसद र किसान प्रतिनिधिहरुको सहभागिता रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। चिनी उद्योगले उखुको भुक्तानी नदिएपछि सर्लाहीका किसानले हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगमै आमरण अनसन सुरु गरेपछि मन्त्री यादबले उद्योगीहरुलाई मन्त्रालयमै बोलाएर किसानको उखुको भुक्तानी नरोक्न चेतावनी दिएका हुन्।

तुरुन्तै भुक्तानी गर्ने प्रतिवद्धता

उद्योग र कृषिमन्त्रीसँगको छलफलमा चिनी उद्योगीको प्रतिनिधित्व गर्दै बसेका शशिकान्त अग्रबालले किसानलाई तुरुन्तै भुक्तानी दिने प्रतिवद्धता जनाएका छन्। छलफलमा सहभागी माओवादी केन्द्रका सचिवालय सदस्य तथा सर्लाहीका किसान प्रतिनिधि डाचाराज वाग्लेले उद्योगी अग्रबालले आइतबारबाट उखुको भुक्तानी दिने प्रतिवद्धता जनाएको जानकारी दिए।

‘मातृका जीले किसानको उखुको भुक्तानी किन रोकेको भनेर उद्योगीहरुको झाँको झार्नुभयो,’ वाग्लेले भने, ‘उद्योगीहरुको प्रतिनिधित्व गरेर छलफलमा बसेका शशिकान्त अग्रबालले आइतबारदेखि किसानलाई भुक्तानी दिने प्रतिवद्धता जनाएका छन्, हेरौं के गर्छन् ।’ मन्त्री यादबले किसानलाई तुरुन्तै भुक्तानी नदिए उद्योगीलाई हत्कडी लगाएर ठगी मुद्दामा कार्वाही गर्ने चेतावनी समेत दिएका छन्।

भुक्तानी नपाउँदा किसानलाई समस्या
छलफलमा सहभागी सर्लाहीका किसान नेता कमल वुढाथोकीले उखुको भुक्तानी रोकिँदा किसानको जीवन यापनमै समस्या भएको बताए । छलफलमा सर्लाहीबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य रामेश्वर यादव, प्रदेश सभा सदस्य डिल्ली उप्रेती, उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनाली, उद्योगी हितेश गोल्छा लगायतको सहभागिता थियो।

उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसानले इन्दु शंकर चिनी उद्योग हरिवनमा विगत एक हप्तादेखि धर्ना दिइरहेका छन्। उद्योगलाई उखु बेचेकोे चार महिना वित्न लाग्दा समेत भुक्तानी नपाएपछि किसानले उद्योगको मूल गेटमा धर्ना दिएका हुन्।

चैत्र ५ गतेदेखि किसानले उद्योगको मूल गेट अगाडि धर्ना दिए पनि उद्योग प्रशासनले किसानको मागको सुनुवाई गरेको छैन । यस वर्ष पनि चिनी उद्योगले गत वर्षकै मूल्य प्रतिक्वीन्टल पाँच सय ३१ रुपैयाँमा उखु खरिद गरिरहेका छन्। सयममै भुक्तानी नपाउने र उत्पादन लागत अनुसार न्यायोचित मूल्य पनि नपाउने भएपछि सर्लाहीका किसानले उखु खेती मास्दै गएका छन्।