गृह मन्त्रालयको सेवा सुधार सुझाव समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

गृह मन्त्रालयको सेवा सुधार सुझाव समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन


काठमाण्डु – पूर्व मूख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित ‘गृह मन्त्रालय अन्तर्गतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति’ले शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष प्रतिवेदन पेश गरेको छ ।

मन्त्रालय अन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले लागि २०८० कात्तिकमा गठित अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरूप विद्यमान समस्याको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन समिति गठन गरिएको थियो ।

समितिलाई शान्ति सुव्यवस्था, अपराध अनुसन्धान, संस्थागत पुनःसरचना, कर्मचारीको कार्य क्षमता वृद्धि, कार्यसम्पादन मापन, नीतिगत तथा कानूनी सुधार, मन्त्रालय अन्तर्गतका निकायहरूको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार, विपद् व्यवस्थापन, राष्ट्रिय परिचय पत्र व्यवस्थापन, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण लगायतका विषयहरू समावेश गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो ।

समितिले मन्त्रालय र मातहत निकायको कार्यसम्पादन सुधार गर्न कर्मचारीको कार्यक्षमता तथा वृत्ति विकासका र संगठन तथा व्यवस्थापन समेत समावेश गरिएको प्रतिवेदनमा तत्काल र दीर्घकालमा लागू गर्न सकिने कार्ययोजनाहरू पनि प्रस्तुत गरिएको जनाइएको छ ।

प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेूले कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी भित्रका विषयमा गहन अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार गरेकोमा धन्यवाद दिँदै प्रतिवेदनका आधारमा गृह प्रशासन सुधारको मार्गचित्र तयार गरिने र सुधारका कार्यहरू अघि बढाइने बताए । उनले प्रतिवेदन कार्यान्वयनका क्रममा समेत प्रतिवेदन तयारकर्ता विज्ञहरूको निरन्तर सहयोग आवश्यक हुने र मन्त्रालयलाई आवश्यक परेका बखत विज्ञहरूबाट मन्त्रालयले निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका छन् ।