नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ग्रहण गरे कार्यभार

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ग्रहण गरे कार्यभार


काठमाडाैं–नव नियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनियताको सपथ लिई कार्यभार समेत सम्हालेका छन्।

संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका नवनियुक्त प्रधानन्यायाधीश मिश्रको सपथ र पद बहाली साेमबार नै भएको हो ।

सर्वोच्च अदालतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ साढे पाँच बजे मिश्रलाई सपथ खुवाएकी थिइन। सपथ लगत्तै मिश्रले सर्वोच्च अदालत पुगि पदबहाली गरेका हुन्।

सोमबार बिहान संसदीय सुनुवाई विशेष समितिबाट मिश्रको नाम सर्वसम्मत अनुमोदन भएको थियो । यस अघि प्रधानन्यायाधीशको रुपमा सिफारिस दिपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्र भाग्यमानी ठहरिएका छन्।

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मिएका ओमप्रकाश मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गरे ।

त्यसैगरी उनले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम समेत गरेका थिए । मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गरे ।

विसं २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम शुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएका छन । मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ ।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेका छन्। सूचना प्रविधिलाई थप प्रभावकारी बनाउन उनले चीनको अदालतको अभ्यासको अध्ययन गरेका छन् ।