काठमाण्डु – हिडन ट्रेजर (मिस नेपाल आयोजक)ले नेपालमा अहिलेसम्म २५ जना मिस नेपाल (सुन्दरीहरु) उत्पादन गर्यो । नेपाललाई विश्वभर चिनाउने वाचा गरी मिस नेपाल (सुन्दरी)को ताज पहिरिएका मिसहरू अहिले आफैं गुमनाम छन् ।
कोही रंगीन दुनिँयाबाट हराएर व्यवसायमा रमाइरहेका छन् त कोही विदेश भासिएका छन् । नेपालका २५ सुन्दरीमध्ये अधिकांश झिलिक्क उदाएर क्षणभरमै गुमनाम बनेका देखिन्छन् । माल्भिका सुब्बा, मलिना जोशी, सुगारीका केसीहरू सञ्चारको दुनियाँमा व्यस्त छन भने रुबी राणा, उषा खड्गीहरू व्यवसायमा । केही ब्राण्ड एम्बासडर बनेर विज्ञापनमा झल्याकझुलुक देखिन्छन् भने अधिकांशचाहिँ विदेश भासिएका छन् ।
नेपालमा मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आइरहेको छ । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने हुन सकेन । यो प्रतियोगिता काठमाण्डुमा हुँदै आएको छ । वर्तमान २०२० की मिस नेपाल सुन्दरी नम्रता श्रेष्ठ हुन् ।
रुबी राणा शाह
नेपालको (०५२) पहिलो मिस नेपाल हुन रुबी राणा शाह । रुवीले पहिलो नेपाल सुन्दरीको क्राउन लगाउँदा जति चर्चा पाएकी थिइन् त्यो चर्चा र सफलतालाई निरन्तरता दिन चलचित्रदेखि मोडलिङमा जम्ने प्रयास गरिन् तर उनको अभिनय यात्राले साथ दिएन । अनमोल, भुतुक्कै भएँ नि, आधीबाटोलगायतका चलचित्रबाट रजतपटमा आएकी उनी आफूले सुरु गरेका अन्य क्षेत्रमा जति सफल भइन् त्यति सफल चलचित्रमा भने भइनन् । अहिले उनी कुपण्डोलमा ‘रुबीज कलेक्सन’ चलाएर बसेकी छन् ।
सुमी खड्का
रुबीपछि दोस्रो नम्बरमा सुमी खड्काले नेपाल सुन्दरीको ताज पहिरिइन् । उनले चलचित्र ग्रहणमार्फत आफ्नो अभिनय यात्रा सुरु गरे पनि यात्राको सुरुआत उत्साहप्रद रहेन । त्यसपछि उनी रंगीन दुनियाँमा टिक्न सकिनन् र एयरहोस्टेसको जागिर खान पुगिन् ।
पुनम घिमिरे
२३ बर्षको उमेरमा मिस नेपाल बनेकी पुनम घिमिरे नर्स हुन् । उनलाई विदेश पलायन हुने पहिलो मिस नेपालको रुपमा चिन्ने गरिन्छ । उनी मिस नेपाल बनेपछि अमेरिकातिर भासिएकी थिइन् । १५ वर्षपछि स्वदेश फर्किएर अहिले उनी व्यवसायमा लागेकी छन् ।
निलिमा गुरुङ
चौथो मिस नेपालकी ताज पहिरिइन पोखराकी निलिमा गुरुङले । उनले म्युजिक भिडियो र मोडलिङमा जम्ने प्रयास गरिन् तर असफल भएपछि बेलायततिर भासिइन् ।
झरना बज्राचार्य
०५४ सालमा नेपाल सुन्दरीको ताज पहिरिइन झरना बज्राचार्यले । उनले नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक मिस वल्र्डमा सहभागी हुने अवसर पाइन् । मिस वल्र्डमा सहभागी भएर फर्केपछि उनी चलचित्र हतियारमार्फत नेपाली रजतपटमा प्रवेश गरिन् । चलचीत्र उद्योगमा बौद्धिक नायिकाका रूपमा परिचय बनाए पनि सफल नायिका बन्ने उनको प्रयास भने प्रयासमै सीमित रह्यो । त्यसपछि उनी अन्य सुन्दरीझै विदेशतिरै अलिझरहेकी छन् ।
ज्योति प्रधान
अर्की सुन्दरी हुन् ज्योति प्रधान । उनी मिस नेपालको उपाधि जितेकै बर्ष अमेरिका गएपछि आयोजकले उनको उपाधि फिर्ता लिएको थियो ।
श्वेता सिंह
मनोविज्ञानमा स्नातकोत्तर गरेकी श्वेता सिंहले आइपिडी नामक संस्था चलाएर बसेकी छन् ।
उषा खड्गी
०५७ सालमा नेपालको सुन्दरी बनेकी उषा खड्गी फेसन डिजाइनरको रूपमा सक्रिय छिन् ।
माल्भिका सुब्बा
माल्भिका सुब्बा टेलिभिजनतिर जमेकी छन् । आमसञ्चार र पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी सुब्बा टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनी सामाजिक कार्यमा समेत सक्रिय छिन् ।
प्रीति सिटौला
प्रीति सिटौलाले २२ बर्षको उमेरमा उपाधि जितेकी हुन् । केहि समय अध्ययनका लागि अमेरिका गए पनि हाल उनी परिवारका साथ काठमाण्ठुमा आफ्नै व्यवसायमा ब्यस्त छिन् ।
पायल शाक्य
पायल शाक्य पनि अन्य सुनदरीझै रंगीन दुनियाँमा टिक्न सकिनन् र अष्ट्रेलिया पुगिन् ।
सुगरिका केसी
सुगरिका केसी आरजेको रूपमा जमिन् ।
सिताष्मा चन्द
सिताष्मा चन्द मिस नेपाल बनेपछि अस्ट्रेलियालीसँग विवाह गरेर उतै भूमिगत भइन् ।
जेनिशा मोक्तान
जेनिशाले मिस नेपाल हुनुभन्दा पहिले नै चलचित्रमा आउने प्रयास गरेकी थिइन् । उनले चलचित्र मेरो एउटा साथी छमा अभिनय गरेकी थिइन् । तर दीपक मलहोत्रा पुत्र दिकेशसँग लगनगाँठो कसेपछि अहिले व्यापारिक संसारमा हराइरहेकी छन् ।
सदीक्षा श्रेष्ठ
मिडिया पर्सनालिटीको छवी बनाएकी सदीक्षा श्रेष्ठ कार्यक्रम उद्घोषिकाको रुपमा देखिन्छिन् भने उनलाई बिज्ञापनहरुमा समेत देख्न पाइन्छ ।
मलिना जोशी
२०६८ की मिस नेपाल मलिना जोशी । जोशी मिस नेपाल बनेपछि निकै उत्साहका साथ चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । उनको चलचित्र उद्योगको प्रवेशलाई धेरैले आशाका साथ हेरेका पनि थिए, तर उनले अभिनय गरेका चलचित्रहरूले व्यावसायिक रूपमा रेकर्ड स्थापित गर्न सकेनन् । र अहिले रंगीन दुनियाँभन्दा पर छिन् ।
सृृष्टि श्रेष्ठ
६९ को नेपाल सुन्दरी सृृष्टि श्रेष्ठले केही सिनेमामा काम गरिन् तर अधिकांश सिनेमा फ्लप भएपछि उनी पनि रंगीन दुनियाँबाट हराइन् ।
इशानी श्रेष्ठ
त्यस्तै ०७० मा मिस नेपालको ताज पहिरिएकी इशानी श्रेष्ठ दन्तरोग विशेषज्ञ हुन् । उनी अहिले सामाजिक कार्यमा सक्रिय छिन् ।
इभाना मानन्धर
७१ की मिस इभाना मानन्धरले सीई कन्स्ट्रक्सनमा बजार प्रवद्र्धनको काममा आफ्ना बुबालाई सघाइन् ।
सुबिन लिम्बू
ग्लोबल गोर्खा नेपाल परिसदको नेपाल च्याप्टर प्रमुख समेत बनेकी लिम्बू गुमनाम छिन् ।
अश्मि श्रेष्ठ
उनी ग्लामर क्षेत्रमा नदेखिएपनि सार्वजनिक समारोहमा भने देखिई रहन्छीन् ।
निकिता चण्डक
०७४ की मिस नेपाल निकिता चण्डकले केही चलचित्रमा काम गरिन् । तर दुवै फ्लप भए ।
शृंखला खतिवडा
मिस नेपालको ताज लगाएकी सुन्दरी हुन् शृंखला खतिवडाले । ‘ब्युटी विथ ब्रेन’ का नामले समेत चिनिने शृंखला सामाजिक काममा व्यस्त छिन् ।
नम्रता श्रेष्ठ
यस वर्ष ०७७ सालको नेपाल सुन्दरीको ताज नम्रता श्रेष्ठले पहिरिइन् । उनी रंगीन दुनियाँमा कतिको रम्न सक्छिन् यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया