इराकस्थित दुई अमेरिकी सैन्य अखडामा इरानले गर्‍यो मिसाइल हमला

इराकस्थित दुई अमेरिकी सैन्य अखडामा इरानले गर्‍यो मिसाइल हमला


काठमाडौं – अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव उत्कर्षमा पुगेको छ ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।

सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ। गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल-असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो।इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ।

अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएकाे छ। इरानको रिभोलुसनरी गार्डस्ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ।

“हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ,“ इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्को एउटा वक्तव्यमा उल्लेख छ। सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो। इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन्।