मन्त्री पण्डितले भने : असार मसान्तभित्र कर्मचारी समस्या समाधान हुन्छ

मन्त्री पण्डितले भने : असार मसान्तभित्र कर्मचारी समस्या समाधान हुन्छ


विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय तहमा कर्मचारी समस्या समाधान हुने बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्म पूरा हुने जानकारी दिएका हुन्।

दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएका स्थानमा काम गरिरहेको जानकारी दिँदै मन्त्री पण्डितले केही खरदार र सुब्बा सरहका कर्मचारी मात्र अपुग रहेको बताए।सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अर्को विकल्प नभएको भन्दै मन्त्री पण्डितले क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेका बाहेक अन्य सबै कर्मचारीले तोकिएको स्थानमा गई जनताको सेवा गर्नुपर्ने सुझाव दिए।

कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको टिप्पणी गर्दै यसलाई संघीयता कार्यान्वयनको सुरुवातका रूपमा बुझ्नुपर्ने मन्त्री पण्डितको भनाइ छ। ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी काममा खटाइएको बताउँदै मन्त्री पण्डितले अब कुनै कर्मचारीलाई हाजिर गरेर मन्त्रालयमा बस्ने छुट नभएको उनले चेतावनी दिए।

मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानुन मन्त्रालयमा पठाइएको जानकारी पनि दिए।निर्वा्चित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीमा नियुक्ति गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउँदै मन्त्री पण्डितले संघीय सरकारले स्थानीय तहमा आवश्यक प्राविधिक कर्मचारी केही समयका लागि करारमा पठाउने जानकारी दिए।
संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्डअनुसार राष्ट्रसेवक कर्मचारी चयन गरिने उनको भनाइ छ।