काठमाण्डु – गत पुस १९ गते बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष पदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो, त्यसयता २ महिना बित्दासम्म माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।
त्यतिबेला नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि चीनमा भएकाले उनी फर्किएपछि पदाधिकारी चयन गर्ने भनियो । नेता पुन माघ १० गते स्वदेश फर्किए । तैपनि १ महिनासम्म पदाधिकारी चयन भएका छैनन् ।
यसबीच सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताले रडाको मच्चियो । माओवादीले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय गर्दा गठबन्धन नै भत्किने अवस्था देखियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सहकार्य गर्न तम्सिए ।
गठबन्धन नै भत्किने र सत्ताबाट बाहिरिनुपर्ने अवस्था देखिएपछि माओेवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारित गर्न सहमत भए । अब एमसीसी पारित भइसकेको छ, माओवादीमा पदाधिकारी चयनको विषय चर्चामा आएको छ ।
संसदबाट एमसीसी अनुमोदन भए पनि नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको विषयले माओवादी समस्यामा परेको छ । अध्यक्ष प्रचण्ड नेता श्रेष्ठलाई भेट्न उनकै घरमा पुग्नुपरेको थियो । शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठक एमसीसी विवाद र पदाधिकारी चयनको विषयमा केन्द्रित हुने जनाइएको छ ।
माओवादीमा १ जना अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने प्रावधान छ । अध्यक्ष प्रचण्ड भइसकेका छन्, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बन्नेछन् । उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा नेताहरूको व्यवस्थापन गर्नुपर्नेछ ।
जनार्दन शर्मा महासचिव, वर्षमान पुनलाई कुन पद ?
माओवादीको महासचिवमा सर्वाधिक रस्साकस्सी छ । कार्यकारी पद भएको र पार्टीको भावी नेतृत्वका रूपमा हेरिने भएकाले सबैको आंखा महासचिवतिरै छ । महासचिव पदमा नेता जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतबीच मुख्य टक्कर छ । यी तिनैमध्ये प्रचण्डको रोजाइमा जो पर्छन्, उही महासचिव हुने नेताहरू बताउंछन् । केन्द्रीय समितिको बैठकअघि बिहिवार पार्टी अध्यक्ष दाहालले नेता कृष्णबहादुर महरा, पुन,बस्नेत र शर्मासंग छलफल गरेका थिए ।
‘छलफलमा अध्यक्ष दाहालले नेता पुन र शर्मालाई मिलेर आउंन भनेको भन्दै तपाईहरु मिलेको हो की हैन भनेर सोध्नुभयो । तर, उहांहरुले आ आफ्नै दावी गर्नुभयो ।’ अध्यक्ष दाहाल निकट स्रोतले भन्यो । शुक्रबार बिहान समेत उनिहरुलाई छलफलका लागी बोलाइएको छ ।
बिहिवारको छलफलमा पुन र शर्माको धेरै दावी भएको भन्दै महासचिव आफुलाई छाड्न बस्नेतले दुवै नेतालाई भनेको बताइन्छ । शर्माले पुनलाई आफुले पहिले सचिवमा प्रस्ताव गरेको भन्दै अहिले उपाध्यक्ष मान्न तयार भएको तर महासचिव भने नमान्ने स्पष्ट पारेको स्रोतको दावी छ । उनले आफु पुनभन्दा सिनियर भएको दावी गरेको बताइन्छ ।
एमसीसी सम्झौताका कारण सत्ता गठबन्धन टुट्नै लागेका बेला अर्थमन्त्री समेत रहेका शर्माले प्रचण्डलाई दह्रो साथ दिएकाले महासचिवमा शर्माको सम्भावना बलियो भएको उच्च स्रोतले जनाएको छ । ‘प्रचण्डले एमसीसीमा विमति राख्दा अर्थमन्त्री शर्मा बिरामी भएको बहाना गर्दै काठमाडौं बाहिर जानुभयो, प्रचण्डले एमसीसीमा सहमति गर्दा संसदमै उपस्थित भएर प्रस्ताव पेश गर्नुभयो । उहां प्रचण्डको इशारामा हिंड्नुभएको छ, कमरेड प्रचण्डलाई यस्तै महासचिव चाहिएको छ,’ एक नेताले भने ।
तर, अध्यक्ष प्रचण्डले अहिलेसम्म महासचिवमा आफ्नो पत्ता नखोलेको बताइन्छ । महासचिवका तिनै दावेदार प्रचण्डसंग निकट भएपनि उनले अहिलेसम्म संकेत नगरेको माओवादी नेताहरु बताउंछन् । प्रचण्डले अवस्था हेरेर पार्टीभित्र तिनै नेताहरुलाई लगाउने र जिम्मा दिने गर्दै आएका छन् ।
प्रचण्डले एमसीसीमा ब्याख्यात्मक घोषणालाई टुंगो लगाउने जिम्मा भने नेता बस्नेतलाई दिएका थिए । बस्नेतसहित कांग्रेसबाट गगन थापा, समाजवादीबाट रामकुमारी झांक्रि र कानुन व्यवसायी गोविन्द बन्दी मिलेर एमसीसीलाई ब्याख्यात्मक घोषणासहित पारित गर्ने डकुमेण्ट तयारी पारिएको थियो ।
एमसीसीमा विकसित घटनाक्रमले जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एक जना पार्टी महासचिव बन्ने सम्भावना बलियो भएको ती नेताले बताए । तर प्रचण्ड नेता अनन्तलाई पनि असन्तुष्ट बनाउन चाहंदैनन् । त्यसैले अनन्तलाई शर्मा र बस्नेत भन्दा माथिको पद उपाध्यक्ष दिने तयारी रहेको छ ।
माओवादीमा नेता कृष्णबहादुर महरा र पुन महासचिव प्रकरणमा निर्णायक हुने सम्भावना समेत त्यत्तिकै छ । उनिहरु दुवै जना शर्माभन्दा बस्नेतलाई नै महासचिव बनाउनुपर्ने पक्षमा लागेका छन् । नेता श्रेष्ठ पनि शर्मालाई महासचिव बनाउन नहुने पक्षमा छन् । यता, नेता अनन्तलाई मत्थर पार्न प्रचण्डले शर्मालाई अर्थमन्त्रीबाट हटाउने तयारी समेत गरेका स्रोतको दाबी छ ।
प्रचण्डले बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटमा समेत चुनावअघि नै सरकार पुर्नगठन गर्न प्रस्ताव गरिसकेका छन् । माओवादीमा तिनै नेताहरुको महासचिवमा दावी देखिएपछी पदाधिकारी टुंगो लगाउन समस्या देखिएको छ । आजको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य थप्ने निर्णय गर्ने र अहिलेलाई कार्यालय बनाएर जाने सम्भावना पनि छ ।
नेता नारायणकाजी श्रेष्ठको समूहले अहिले माओवादीभित्र असन्तुष्ट छ । र वैशाखमा निर्वाचन हुन लागेकाले पनि तत्काल पदाधिकारी नबनाउने सम्भावना पनि माओवादीभित्र उत्तिकै छ ।
को बन्ला अर्थमन्त्री ?
जनार्दन शर्मालाई पार्टी काममा लगाउंदा अर्थमन्त्री पद रिक्त हुनेछ । अर्थमन्त्रीमा वर्षमान पुन, देव गुरुङ र शक्तिबहादुर बस्नेतमध्ये एक जना जाने सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । माओवादी पदाधिकारीको टुंगो लागेपछी मात्र अर्थमन्त्री टुंगिने सम्भावना छ ।
त्यसो त कांग्रेसले गृहमन्त्री माओवादीलाई दिएर अर्थमन्त्रालय आफुले राख्ने प्रस्ताव समेत गरेको छ । तर, गृह वा अर्थ जे भएपनि तिनै नेताबाट नाम टुंगो लाग्नेछ । बस्नेतले सरकारमा जान भने रुची नदेखाएको माओवादी स्रोत बताउंछ ।
एमसीसी विवादले पदाधिकारीको एजेन्डा ओझेलमा पर्ला ?
लामो समयदेखि पदाधिकारीविहीन रहेको माओवादीमा पछिल्लो समय एमसीसी विवाद देखिएको छ । नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायत पार्टीले एमसीसीको पक्षमा उभिएकोमा असन्तुष्ट छन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा एमसीसी विवाद चर्किने सम्भावना उत्तिकै रहेको माओवादीका एक नेताले बताए । ‘कमरेड नारायणकाजीले एमसीसी देखाएर पदाधिकारीमा बार्गेनिङ गरिराख्नुभएको छ, बैठकअघि नै पदाधिकारीको भागबण्डा नटुंगिए एमसीसी विवाद चर्किनसक्छ,’ ती नेताले भने ।
एमसीसी विवाद चर्किएमा पदाधिकारी चयन प्रक्रिया पछाडि धकेलिनसक्ने समेत जनाइएको छ । तर एमसीसी विवाद मत्थर पार्न अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसंग नियमित छलफल चलाइरहेका छन् ।
एमसीसीका सन्दर्भमा प्रचण्डले द्वैध चरित्र देखाएको, कार्यकर्तालाई सडक आन्दोलनमा पठाएर आफूले प्रधानमन्त्री देउवासँग सहमति गरेको, स्पष्ट अडान लिन नसकेको भन्दै केन्द्रीय समितिमा आलोचना हुनसक्ने स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस-
प्रतिक्रिया