रौतहटमा एसइईमा चिट चोर्न बोकिएका ७ सय ६४ वटा मोवाइल बरामद

रौतहटमा एसइईमा चिट चोर्न बोकिएका ७ सय ६४ वटा मोवाइल बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ३ सय ४० थान मोवाइल सेट बरामद गरिएको छ ।

पहिलो र दोस्रो दिनगरि ७ सय ६४ थान मोवाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोवाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचका क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार एक प्रेस नोट जारी गर्दै दुई थान स्मार्ट वाच समेत बरामद गरेको जनाएको छ । परीक्षा हलभित्र गार्डको रूपमा खटी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई परीक्षा अवधि भरका लागि निष्काशित गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दिपक कुमार रायले बताए । 

उनका अनुसार बरामद गरि नियन्त्रणमा लिइएका मोवाइल सेट र स्मार्ट वाचका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट मोबाइल, स्मार्ट वाच र गार्डलाई निष्कासन गरेको खुलाएको छैन । 

एसइई परीक्षा अन्तर्गत शुक्रवार अनिवार्य  नेपाली विषयको परीक्षा भएको हो । 

यस वर्षको एसइई परीक्षामा यहाँ ४० वटा परीक्षा केन्द्रमा १० हजार ४ सय ८४ जना परीक्षार्थीहरु परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ ।