काठमाडौं – भारत-पाकिस्तान तनावबीच मंगलवार बिहान एकाएक खबर फैलियो – भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूमिमा बम आक्रमण । भारतका विदेशसचिव विजय गोखलेले मंगलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश-ए-मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको बताए ।
भारतीय वायुसेना पाकिस्तानी क्षेत्रमा घुसेर आक्रमण गर्नु १४ फेब्रुअरी २०१९ का दिन भारतीय अर्धसैनिक बल (सीआरपीएफ) का सुरक्षाकर्मीमाथि कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणको प्रतिक्रिया थियो । आक्रमणमा ४६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।
दबाबमा मोदी
सुरक्षाकर्मीमाथि ठूलो क्षति हुने गरी भएको आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भनेर भारतमा जबर्जस्त प्रचार गरियो । तर पाकिस्तानले आरोपको खण्डन गरेको छ । भारतीय मिडियादेखि सामाजिक सञ्जालमा पाकिस्तानबाटै आतंकवादी आक्रमण भएको दाबी गर्न छाडिएन ।
सँगसँगै भारतीय सरकार प्रमुख प्रधानमन्त्री नरेन्द्र मादीमाथि नैतिक दबाब बढ्दै गयो – पाकिस्तानमाथि आक्रमण गर्न । यसअघि समेत मोदीकै शासनकालमा आतंकवादीको अड्डामा ‘सर्जिकल स्ट्राइक’ गरिएको भनिएको थियो । सोही शैलीमा यसपटक पनि पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गर्नुपर्ने दबाब मोदीमाथि बढ्दै गयो । आमनिर्वाचनको मुखमा भएको ठूलो आतंकवादी हमला र पाकिस्तानविरुद्धको कारवाहीको जनदबाबलाई सम्बोधन गर्नैपर्ने बाध्यतामा मोदी पुगे ।
जुन बाध्यताको परिणाम थियो -मंगलवार बिहान फैलिएको खबर । भारतीय पक्ष र मिडियाले आक्रमणमा तीन सय आतंककारीको मृत्यु भएको दाबी गरेपनि पाकिस्तानले कसैको पनि मृत्यु नभएको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भने, ‘भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए, जुन बालाकोटनजिकै खसे । त्यसबाट कुनै हानि वा कोही हताहत भएको छैन ।’
चुनावी रणनीति
भारतीय वायुसेनाले आक्रमण गरेको भनिएको ठाउँमा पाकिस्तानी भूभागमा न कुनै शव बरामद भएका खबर आएका छन्, न त मृत्यु हुनेका नाम नै । त्यसैले भारतीय सेनाको जवाफी आक्रमण चुनावी रणनीति र प्रचारवाजी मात्रै हो कि भन्ने आशंका गर्न थालिएको छ । भारतीय वायुसेना पाकिस्तानी भूभागमा प्रवेश गरेर सुरक्षित रुपमा फर्किएको चाहिँ पाकिस्तानी तर्फबाट समेत पुष्टि भइसकेको छ ।
ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीले शहादत प्राप्त गरेको अवस्थामा समेत मोदी सरकार मौन बस्दा आसन्न चुनावमा नराम्रो असर पर्न सक्ने खतरा भारतीय जनता पार्टी (भाजपा) लाई छ । मोदी त्यो खतराबाट मुक्त हुन चाहन्छन् । तर मोदी चुनावलाई बिर्सेर युद्ध रोज्ने पक्षमा देखिँदैनन् । सुरक्षाकर्मीको मृत्युको बदला लिने भावसहित मोदी सरकारले चुनावलाई बिर्सेर प्रतिकारमा उत्रिने हो भने पाकिस्तानले समेत जवाफ फर्काउने चेतावनी दिइसकेको छ । जसले युद्धलाई निम्त्याउँछ ।
पाकिस्तानमाथि आक्रमण गरेजस्तो देखाएर चुनावी लाभ लिने रणनीतिमा मोदी देखिन्छन् । भारत–पाकिस्तानबीच तनाव जारी रहेकै बेला मोदीले सफाई कर्मचारीका खुट्टा पखालेर राजनीतिक लाभ लिन खोजेका छन् । धार्मिक आस्था भएका नदीमा गएर डुबुल्की लगाएका छन् । मोदीको ध्यान युद्धभन्दा पनि चुनावमा बढी देखिन्छ ।
युद्ध कति सम्भव ?
भारतमा समय–समयमा आतंकवादी हमला हुने गरेका छन् । जसमा भारतीय सुरक्षाकर्मीको मृत्यु हुने गरेको छ । भारत प्रशासित जम्मु–कस्मिर क्षेत्रमा वर्षाैदेखि जारी विवादको स्थायी समाधान नहुँदासम्म आतंकवादी हमलाको अन्त्य हुने सम्भावना देखिँदैन । कस्मिर क्षेत्रमा सदैव आतंकवादी हमलाको खतरा रहने गरेको छ । मंगलवार बिहान प्रवाह भएका समाचारले भारत–पाकिस्तान युद्धको खतरा बढाएको देखिएको थियो । तर मानवीय क्षति भएका विवरण नआएकाले युद्धकै स्तरमा विवाद अगाडि बढ्ने सम्भावना कम देखिन्छ । मानवीय क्षति नै हुने गरी भारतीय पक्षबाट हमला भएको भए चाहिँ युद्धको खतरा रहन्थ्यो ।
भारतमा पाकिस्तानमाथि आक्रमण गर्नुपर्ने दबाब बढिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कडा जवाफ फर्काएका थिए । उनले भारतलाई भनेका थिए, ‘पहिलो कुरा त विना प्रमाण पाकिस्तानमाथि आरोप लगाइयो । अहिले पाकिस्तान स्थायित्वतर्फ अगाडि बढिरहेको छ, हामी यस्तो किन गर्छाैं ? पाकिस्तानलाई यसबाट के फाइदा ? म बारम्बार भन्दैछु कि नयाँ पाकिस्तान हो । पाकिस्तान आफैं आतंककारीबाट हैरान रहेको छ ।’
‘म भारतलाई अफर गर्छु कि आउनुस् र जाँच गर्नुस् । यदि कोही आतंकवादमा पाकिस्तानी भूमि प्रयोग गरिरहेको छ भने त्यो हाम्रो लागि दुश्मन हो । हिन्दूस्तानमा एउटा नयाँ सोच आउनुपर्यो । आँखिर किन कस्मिरीहरूमा मृत्युको त्रास अन्त्य भएको छ,’ उनले अगाडि थपे, ‘कुराकानीबाटै समस्याको हल हुन्छ, के यसबारेमा भारतले सोच्नुपर्दैन ? भारतीय मिडिया र राजनीतिमा सुन्न मिलिरहेको छ कि पाकिस्तानसँग बदला लिनुपर्यो । यदि तपाई पाकिस्तानमाथि हमला गर्ने सोच्नुहुन्छ भने पाकिस्तान सोच्ने छैन, पाकिस्तान जवाफ दिनेछ ।’
मंगलवार पाकिस्तानी भूमिमा भारतीय सेना प्रवेश गरेपछि प्रधानमन्त्री खानको कुनै प्रतिक्रिया आएको छैन । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘म देशवासीलाई विश्वास दिलाउन चाहन्छु कि देश सुरक्षित हातमा छ ।’ प्रधानमन्त्री मोदीले भारत–पाकिस्तान तनावबीच आफ्नो चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसबीच सीमा क्षेत्रमा भारत–पाकिस्तान गोली हानाहान र तनाव जारी नै रहने छ ।
पाकिस्तानका सन्दर्भमा भारत सरकारबाट चालिने हरेक कदम चुनाव लक्षित देखिएकाले तत्काल युद्धको सम्भावना देखिँदैन । राष्ट्रियताप्रति संवेदनशील रहेको भारतीय जनमत आफ्नो पक्षमा बटुल्न भने मोदी सरकार र सत्तारुढ भाजपाले पाकिस्तानविरुद्धका आक्रामक अभिव्यक्ति र शैलीलाई विश्राम दिने छैनन् ।
प्रतिक्रिया