जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।
जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् । षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ ।
ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदुभाषणी गरिमामयी कुलवधु, प्रकृति स्वरूपा सबल नारी , संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पूज्यनीय र अनुकरणीय मानिएको छ ।
यस सन्दर्भमा एक पटक भारतीय समाजवादी नेता चन्द्रशेखर जनकपुरधाम आएका बखत आयोजित अभिनन्दन कार्यक्रममा भावविभोर भई जानकीको वन्दना गर्दै भगवान् रामलाई पुरुषार्थको प्रेरणा जानकीबाट नै प्राप्त भएको प्रसङ्गले पनि अनन्य भावलाई स्पष्ट गर्छ ।
प्रतिक्रिया