के हो मोशन सिक्नेस, यसबाट कसरी छुटकारा पाउने ?

के हो मोशन सिक्नेस, यसबाट कसरी छुटकारा पाउने ?


केही मानिसलाई मोटरगाडी, रेल, हवाईजहाज वा पानी जहाजमा यात्रा गर्ने सोचले मात्रै पनि चिन्तित बनाइदिने गर्छ । त्यस्तो यात्रामा रिँगटा र वाक्वाकी लाग्नुलाई ‘मोशन सिक्नेस’ भनिन्छ ।

शारीरिक रूपमा स्थिर तर गतिमान भएका बेला हाम्रो आँखाले देख्ने र शरीरले महसुस गर्ने कुरा फरक–फरक हुन्छन् । यसरी मस्तिष्कले एकापसमा अमिल्दा सङ्केतहरू प्राप्त गरेका बेला कसैकसैलाई रिंगटा लाग्ने र वाक्वाकी आउला जस्तो हुन्छ । त्यहि नै ‘मोशन सिक्नेस’ हो ।

जस्तो हामी गुडिरहेको कारमा बसेका बेला शरीर त स्थिर हुन्छ तर हाम्रो आँखाले वस्तुहरूलाई गतिमान देख्छ ।

मस्तिष्कले मिश्रित सङ्केतहरूप्रति प्रतिक्रिया जनाउने भएकाले यो समस्याका पीडितहरूले वाक्वाकी, रिँगटा लाग्ने तथा अन्य सामान्य असुविधाको अनुभव गर्छन् ।

कसैकसैमा असाध्यै चर्को लक्षणहरू देखा पर्छन्, जसले गर्दा उनीहरू सकेसम्म यात्रालाई नै छल्न रुचाउँछन् । अझै पनि धेरै मानिसहरू यसको चमत्कारी उपचारको खोजीमा छन् ।

‘मोशन सिक्नेस’ किन हुन्छ भन्ने बुझ्नका निम्ति हाम्रो मस्तिष्कले शरीरबाट कसरी संवेदनात्मक सङ्केतहरू प्राप्त गर्छ भन्ने बुझ्न ठिक हुन्छ ।

हाम्रो मस्तिष्कमा पुग्ने सङ्केतहरू कानका भित्री भागको माध्यमबाट पनि निरन्तर अद्यावधिक भइरहेको हुन्छ । त्यस्तै मांसपेशी, स्नायु र जोर्नीहरूमार्फत् शरीरको स्थिति र चालबाट पनि सङ्केत प्राप्त गरिरहेको हुन्छ । कानका भित्री भागहरू शरिरको सन्तुलनको केन्द्र हुन् ।

कानका नलीहरूमा एक प्रकारको तरल पदार्थ हुन्छ, जुन हामीले टाउको घुमाउँदा हल्लिन्छ । यसप्रकार हाम्रो टाउको दायाँ वा बायाँ अथवा तल वा माथितिर कुन दिशामा झुक्यो वा मोडियो भन्ने मष्तिष्कले चाल पाउँछ ।

तर यदि तपाईँको आँखाले एउटा कुरा देख्छ, मांसपेशीले अर्कै कुरा महसुस गर्छ र कानका जराले भिन्दै कुरा अनुभव गर्छन् भने त्यस्तो बेला मस्तिष्कले मिश्रित सन्देशहरू ग्रहण गर्छ । यही संवेदनात्मक बेमेलले रिँगटा वा वाक्वाकी लगाउँछ ।

पानीजहाज र हवाईजहाजमा फेरि ठ्याक्कै उल्टो हुन सक्छ । कानका भित्री भाग र मांसपेसीले गति महसुस गर्न सक्छन् तर क्षितिज एकैनासको देखिँदा आँखाले स्थिरता महसुस गर्न सक्छ ।

परिणामतः रिँगटा लाग्ने, टाउको दुख्ने, सामान्य असुविधा वा भ्रान्ति हुने हुन सक्छ ।

‘मोशन सिक्नेस’ले विभिन्न किसिमका लक्षणहरू पैदा गर्न सक्छ । ती प्रायः विस्तारै सुरु हुन्छन् र त्यसलाई पैदा गर्ने क्रियाकलाप रोकिएन भने चर्किँदै जान्छन् ।

लक्षण

-रिँगटा लाग्नु वा बेहोस हुन लागेझैँ हुनु

-असन्तुलन वा चक्कर लाग्नु

-अस्वस्थ महसुस हुनु

-वाक्वाकी लाग्नु

-बान्ता आउनु

-टाउको दुख्नु

-छाला फिक्का हुनु

-पसिना आउनु

-थकान महसुस हुनु

सामान्यतयाः यी लक्षणहरू बिलाउन वा तपाईँलाई फेरि सामान्य महसुस गर्न २० मिनेटजति लाग्न सक्छ ।
तथापि, गम्भीर लक्षणहरू निको हुन चौबीस घण्टासम्म समेत लाग्न सक्छ ।

‘मोशन सिक्नेस’बाट केटाकेटीहरू पीडित हुने जोखिम अधिक हुन्छ । यद्यपी यसबाट जो कोही प्रभावित हुन सक्छन् । तर दुईदेखि बाह्र वर्षसम्मका केटाकेटी, गर्भवती महिला र माइग्रेनको विगत भएकाजस्ता मानिसहरू अधिक पीडित हुन सक्छन् ।

रोचक कुराचाहिँ शिशुहरू ‘मोशन सिक्नेस’प्रति पूर्णतः प्रतिरक्षात्मक हुन्छन् ।

त्यस्तै ‘मोशन सिक्नेस’मा आनुवंशिकीको पनि भूमिका हुन्छ । यसबाट पीडित हुने ६५ प्रतिशतजति मानिसलाई यो समस्या आमाबुवाबाट प्राप्त हुन्छ ।

जोगिने उपाय

यात्रा गर्नुअघि :

-धेरै मात्रामा र मसालेदार खाना नखाने

-क्याफिन र अल्कोहलको उपभोगलाई सीमित गर्ने

-पर्याप्त सुत्ने

यात्राका क्रममा :

-आफ्नो सिट चयन गर्ने

कार, बसमा अघिल्लो सिटमा बस्ने

-रेलमा झ्यालपट्टि अघिल्लिर फर्केर बस्ने

-क्षितिजतर्फ हेर्ने

-टाउकोलाई यताउता घुमाउनबाट जोगाउने

-ताजा हावा आउने गरी झ्याल खुला राख्ने

-पढ्ने, फिल्म हेर्ने वा विद्युतीय उपकरण चलाउने काम नगर्ने

-गीतसङ्गीत सुन्नेजस्ता क्रियाकलापबाट परै रहने

-आँखा बन्द राखिराख्ने

-प्रशस्त पानी पिउने

केही अध्ययनहरूले अदुवायुक्त ट्याब्लेट, विस्कुट वा चिया खाँदा बान्ता र वाक्वाकी घटाउन सकिने सुझाएका छन् ।

सम्भव भए अदुवाको चिया, बिस्कुट या काँचो अदुवा प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा मस्तिष्कको ध्यान अन्तै मोडिने र वाकवाकी पनि कम हुन्छ ।

‘मोशन सिक्नेस’ विरुद्धका औषधिहरूले यसको लक्षणहरूको उपचार गर्नेभन्दा पनि त्यसलाई पैदा हुनबाट जोगाउन मद्दत गर्छन् । त्यसैले यात्रा गर्नुभन्दा ३०–६० मिनेटअघि औषधि खानुपर्छ ताकि औषधिले रक्तप्रवाहमा मिसिन पर्याप्त समय पाउँछ ।