सात प्रदेशका मुख्यमन्त्रीकाे भेला पाेखरामा

सात प्रदेशका मुख्यमन्त्रीकाे भेला पाेखरामा


काठमाडाैं– सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला अाजबाट पाेखरामा शुरू भएकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा मुख्यमन्त्रीहरु पोखरा पुगेका हुन् ।

सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।

भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लिओस् भन्ने चाहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ अभ्यास बनिरहेको अवस्थामा सुरु भएको भेलाबाट प्रदेशका अपेक्षा पूरा गर्न आधार तयार पार्ने उनले बताए । अग्रगामी संविधान कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भेलाले सम्बोधन गर्ने छ । भेलामार्फत प्रदेशको गतिको सुरु हुने उनको विश्वास छ ।

भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने विषयमा मुख्यमन्त्रीहरुबीच छलफल हुने छ । केन्द्रसरकारले प्रदेशलाई अधिकार नदिएको भन्दै मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन् । मुख्यमन्त्रीहरुले केन्द्रसरकारको कामप्रति र केन्द्रले प्रदेशमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । कतिपयले यसलाई केन्द्रसरकार विरुद्ध प्रदेश सरकारहरुको मोर्चावन्दीको रुपमा लिएका छन् । गण्डकी प्रदेशले यसअघि मुख्य न्यायाधिवक्ताहरुको भेला गरिसकेको छ ।