के मुकुल रास्वपामा फर्किएलान् ?

के मुकुल रास्वपामा फर्किएलान् ?

दोस्रो तहका नेताले गरे पहल


काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन पहल सुरु भएको छ । दोस्रो तहका नेताहरूले ढकाललाई पार्टीमा फर्काउन पहल थालेका छन् ।

ढकाललाई निष्कासन गरिसकेपछि पार्टी कमजोर भएको निष्कर्षसहित कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका हुन् ।

कोशीका सभापति तिम्सिनाले ढकाललाई जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णयमा आफूले गरेको हस्ताक्षर फिर्ता लिएको बताएका छन् । उनले पत्रमा एकापसमा भिडेरभन्दा मिलेर पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

मधेशका महामन्त्री यादवले पनि ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी गराउँदै रास्वपा अहिले सबैभन्दा ठूलो संकटको घडीमा रहेकाले विवेकपूर्ण तरिकाबाट अघि बढ्न आवश्यक रहेको उल्लेख गरेका छन् । कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एकआपसका तुष त्यागेर संकटको यो घडीमा एकजुट हुन उनले आह्वान गरेका छन् ।

रास्वपाले संस्थापक महामन्त्री एवं प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा निष्कासन गरेको हो ।