भारी वर्षाले भारतको मुम्बई जलमग्न

भारी वर्षाले भारतको मुम्बई जलमग्न


काठमाण्डु-लगातार मुसलधारे वर्षाले भारतको मुम्बई जलमग्न भएको छ ।

मुम्बई मात्रै नभई महाराष्ट्रका थुप्रै भूभाग जलमग्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुम्बइमा सडकदेखि विमानस्थलसम्म पानी भरिंदा आवजत जावतमा कठिनाई भएको छ । रेल र हवाई उडानमा समेत ढिलाई भएको छ । मुम्बइका ठाणें, पालघरलगायतका क्षेत्रमा ब्यापक डुबान भएको छ ।

यस्तै महाराष्ट्रकै पूणें, कोल्हापुरमा स्थिति निकै गम्भीर रहेको जनाइएको छ । पूणेंको एकतानगरमा पानीमा डुबेर चार जनाको मृत्यु भएको छ । त्यहाँ १५ वटा कोलोनी डुब्दा कोलोनी भित्र बस्नेहरुको उद्धार गर्न समेत कठिनाई भएको छ । पुणेंमा उद्धारका लागि सेना परिचालन गरिएको छ ।

सेनाले घरभित्रै फसेका चार सय बढीको उद्धार गरेको छ । मेट्रो स्टेशनमा समेत पानी भरिंदा मेट्रो सेवा अवरुद्ध भएको छ । सडकमा एम्बुलेन्स, दमकल र उद्धारका लागि गएका सुरक्षाकर्मी चढेका गाडी समेत बाटोमै फसेका छन् । डुबानका कारण शैक्षिक संस्थाहरुदेखि सपिङ मलहरुसम्म बन्द गर्नुपरेको छ ।