मिसन ‘मुनाल’को अब अन्तरिक्ष सयर

मिसन ‘मुनाल’को अब अन्तरिक्ष सयर


काठमाण्डु-नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् ।

मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पु–याइने छ । यसका लागि भारतले सहयोग गर्ने विषयमा सम्झौता पनि भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ ।

स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए ।

श्रव्यदृश्य सामग्री उत्पादन र भू–उपग्रहमा राख्ने काममा राजन श्रेष्ठ र किरण महर्जन लागेका छन् । महर्जनले यसरी अहिलेसम्म नेपाली श्रव्यदृश्य अन्तरिक्षमा गएको यो पहिलो पटक हुने दाबी गर्छन् ।

अन्तरिक्ष प्रतिष्ठानका संस्थापक नेपाली वैज्ञानिक डा. आभाष मास्केले अन्तरिक्षमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री पठाउने कुरा आफैँमा नौलो विषय भएको बताए । उनले मुनाल भू–उपग्रहमा श्रव्यदृश्य दुवै सामग्री अडियो (ध्वनि) माध्यममा पठाइने बताउँदै यसरी पठाइएको ध्वनि सामग्रीलाई कसरी डिकोडिङ (पहिलाको स्वरूपमा फिर्ता ल्याउने) भन्ने कुराको जानकारी स्याटेलाइटको बोर्डमा उल्लेख गरिने बताए ।

नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले नेपाल मेघा स्याटेलाइटको तयारीमा रहेकाले नेपालको आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रको आवश्यक रहेको बताउँछा् । मुनाल स्याटेलाइट परियोजनाअन्तर्गत थाइल्यान्डका चार र नेपालका नौ जना विद्यार्थी सहभागी छन् । उनीहरूलाई आठ जनाको वरिष्ठ टोलीले प्रशिक्षण दिएका छन् ।

भारतीय सहयोग

भारतीय विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेडबीच शनिबार नयाँ दिल्लीमा मुनाल स्याटालाइट प्रपेक्षण्मा सहयोगका सम्बन्धमा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

नास्टले बनाएको मुनाल स्याटलाइट प्रक्षेपणका लागि दुई पक्षबीच अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको हो । विदेश मन्त्रायलका तर्फबाट सहसचिव अनुराग श्रीवास्तव र न्यु स्पेस इन्डिया लिमिटेडका निर्देशक अरुनाचलम ए. बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्के सहभागी थिए । कार्यवाहक राजदूत थापाले उक्त हस्ताक्षर कार्यक्रमपछि अहिलेसम्म नेपाल–भारत सम्बन्धलाई हिमालयभन्दा अग्लो र इन्डियन समुन्द्रभन्दा गहिरो भन्ने गरेकामा अब स्पेस (अन्तरिक्षण) मा नेपाली स्याटलाइट पु¥याउन गरेको सहयोगले अब स्पेससम्मको सम्बन्ध भन्न मिल्ने पनि उल्लेख गरे ।

गत पुस १९ मा काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा नेपालले बनाएको स्याटलाइटलाई भारतको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको हो । सोही सहमतिअनुसार अहिले यो कार्यक्रम अघि बढाइएको छ ।

मुनाल स्याटेलाइट नास्टको सहयोगमा नेपालमा विकसित गरिएको स्वदेशी उपग्रह हो । स्याटेलाइटको भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको थियो। यसको आकार नेपाली स्याट–१ जस्तै छ । नास्टको सहयोगमा नेपालको सरकारी विद्यालयमा कक्षा १२ मा पढ्ने विद्यार्थीले ‘मुनाल हाइस्कुल स्याटेलाइट’ निर्माण गरेका हुन् ।

नेपाली अन्तरिक्ष स्टार्टअप एपीएनले यस स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ । मुनाल स्याटेलाइट निर्माणले नेपालमा पनि युवा वैज्ञानिक रहेको उदाहरण दिएको र अवसर पाए नेपालका विद्यार्थीले पनि आफूलाई अब्बल सावित गर्न सक्न भन्ने सन्देश गएको बताइएको छ ।

यो स्याटेलाइट एनएसआईएलको पोलर स्याटेलाइट प्रक्षेपण बाहनमा छिट्टै प्रक्षेपण हुने अपेक्षा गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । स्याटेलाइटको भारतबाटै प्रक्षेपण हुनेछ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालमार्फत ‘डाँफे’ मिसन पनि सञ्चालनमा छ । थाइल्यान्डमा निर्माण गरिएको ‘मल्टी पे लोड क्युब स्याट’ मा दुई वटा मिसनलाई ‘डाँफे मिसन’ नाम दिइएको छ । जसमा दुईवटा प्रविधिको प्रयोग भएको छ ।