काठमाडाैं–कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा एक सशस्त्र प्रहरी जवानको हत्या भएको छ।
सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्या भएको कञ्चनपुरका प्रहरी प्रवक्ता भीम दाहालले काठमाडौंपाटीलाई जानकारी दिए।
भीमदत्त नगरपालिका ३ तिलकपुर स्थायी घर भएका कुँवरको शव ऐठपुर स्थित नहर छेउमा टाँउको थिचिएको अवस्थामा भेटिएको थियो।
कुँवरको हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ। केही व्यक्तिविरुद्ध उजुरी आएको र अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।
हत्याको विरोधमा बजार बन्द
सशस्त्र प्रहरी बलका जवान कुँवरको हत्याको विरोधमा स्थानीयले बिहीबार महेन्द्रनगर बजार बन्द गराए।
स्थानीयले घटनाको विरोधस्वरूप तथा घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै बजार र यातायात बन्द गराएका हुन् ।
फाेटाे इनयाँपत्रिकाबाट साभार।
स्थानीयले बिहीबार बिहान १० बजेदेखि महेन्द्रनगरको भानु चोक, मदन चोकलगायतका विभिन्न चोक चौतारामा टायर बालेर यातायात र बजार बन्द गराएका थिए।
प्रतिक्रिया