ज्योतिषशास्त्र ‘हाईटेक’ शैलीमा रुपान्तरण हुँदैछः मुस्कान खनाल (अन्तर्वार्ता)

ज्योतिषशास्त्र ‘हाईटेक’ शैलीमा रुपान्तरण हुँदैछः मुस्कान खनाल (अन्तर्वार्ता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समयसँगै मानिसका विचार, कुनै वस्तु वा सेवाप्रतिको दृष्टिकोण वा बुझाई परिवर्तन हुँदै गएको छ । यससँगै एक दशकअघिसम्म अन्धविश्वास र परम्परागत सिद्धान्तको रुपमा सडक पेटिमा गुज्रिरहेको ज्योतिषशास्त्र आजभोलि कम्युटर सफ्टवेयर तथा अन्य अत्याधुनिक प्रविधिले गर्दा विश्वासनीय, लोकप्रिय र समय सान्दर्भिक हुँदै गएको देखिन्छ ।

साथै यस क्षेत्रमा युवा वर्गको आकर्षण बढ्दो छ । हामीले केही समयअघि बंगलादेशमा सम्पन्न ‘२८ औँ दक्षिण एसियाली ज्योतिष सम्मेलन’मा स्वर्ण पदक सहित ‘प्रोमिनेन्ट एस्टोलोजर अफ साउथ एसिया कन्टेन्ट’ अवार्डबाट विभुषित भएका युवा ज्योतिषी मुस्कान खनालसँग ज्योतिशाशास्त्र र वास्तुशास्त्रको गरीमा, महत्व र मानव जीवनमा यसको उपयोगीताबारे निशेष खनालले गरेको कुराकानीः

तपाईं मिडिया हुँदै सेलिब्रेटी आरजे भैसकेको मान्छे । अध्यात्म र ज्योतिषशास्त्र प्रति आकर्षण चाहीँ कसरी बढ्यो ?

त्यतिबेला मिडिया मेरो आफै तय गरिएको क्षेत्र थियो । त्यसैले म यस क्षेत्रमा लामो समयसम्म रमाउन सकिन । अध्यात्म र ज्योतिषशास्त्र प्ररब्धमै रहेछ यसर्थ यसतर्फ स्वस्फूर्त रुपमा म आकर्षित भएँ र तल्लिन भएर निरन्तर लागिरहेको छु ।

तपाईं अध्यात्म तथा ज्योतिषशास्त्रको साधक हुनुहुन्छ र पनि जीवनशैली हेर्दा विलासी जस्तो पनि लाग्छ ।ज्योतिषी तथा अध्यात्मिक व्यक्तित्व यसरी भौतिक संसारमा रमाउनु आवश्यक छ र ?

प्रारम्भमा ईश्वरले मानवलाई सृष्टि गर्दा भौतिक स्वरुपको रचना पहिले गर्नुभएको थियो भने आत्मिक तत्व पछि । तसर्थ, हरेक व्यक्तिमा ज्ञानको तह पनि भौतिकबाट आध्यात्मिकतामा जाने हो । यस हिसाबले पनि मान्छे भौतिकता र अध्यात्मितासँग समान रुपमा सम्बन्धित छ । आवश्यक छ छैन भन्दा पनि सहजै उपलब्ध छ भने लिप्त नभएर भौतिक वस्तुहरुको उपभोग गर्दा खासै फरक पर्दैन ।

जीवनको यो विन्दुमा आइपुग्दा मानव जीवन के रहेछजस्तो लाग्यो ?

जीवन के हो भनेर विश्वका दार्शनिकहरुले घोत्लिएको सयोँ वर्ष भइसक्यो तर यो सरल प्रश्नको उत्तर दिन चाँहि कठिन छ । किन कि वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदो रहेछ । तपाईं जसरी बाँचिरहनु भएको छ, तपाईको लागी त्यहि नै जीवन हो, जीवनको सत्यता त्यो भन्दा बेसी केहि छैन ।

अब विषय प्रवेश गरौँ । ज्योतिशास्त्र के हो ? यसले के संकेत गर्छ ?

ज्योतिषशात्र भन्नासाथ सिद्धान्त ज्योतिष र फलित ज्योतिष भन्ने बुझिन्छ । सिद्धान्त पक्षले खगोलीय, भूगोलीय ग्रह गणितका सिद्धान्त प्रस्तुत गर्छ भने पmलित ज्योतिषले सौर्य मण्डलमा रहेका तारा र ग्रहको आपसी सम्बन्धबाट प्राप्त हुने किरण वा तरंगलाई सुक्ष्म रुपमा अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने गर्छ । वैदिक ज्योतिष कर्मको सिद्धान्तमा आधारित छ । कुण्डली हाम्रो पूर्व जन्ममा गरिएको कर्म दर्शाउने नक्सा हो । हाम्रो वर्तमान जीवन हाम्रो विगतको जीवनको कर्ममा आधारित÷संंरचित छ । ज्योतिषीले उक्त नक्साको सुक्ष्म अध्ययनद्वारा विगतको जीवनको असल वा खराब कर्मफल स्वरुप यस जीवनमा आउने परिणामबारे संकेत गर्न सक्छन् ।

हजारौँ किलोमिटर टाढा रहेका ग्रहहरुले हाम्रो जीवनमा असर गर्ने कुरा कसरी विश्वास गर्ने ? तपाईं कुनै प्रमाण दिन सक्नुहुन्छ ?

जो मानिसहरु यसो भन्नुहुन्छ उहाँहरु सायद यस विषयमा अनविज्ञ हुनुहुन्छ । मलाई तपाईंको बारेमा केही थाहा छैन र कसैले यो मान्छे कस्तो हो भनेर सोध्यो भने मैले खराब हो भन्दा तपाईंप्रति कति न्याय हुन्छ ? ३८४,४०० किमी टाढा रहेको चन्द्रमामा आउने परिवर्तनले समुन्द्रमा ज्वारभाटा ल्याउन सक्छ भने ५०–७५% सम्म जल तत्व रहने मानव शरीरलाई यसले प्रभावित गर्न सक्दैन भन्ने कुरै आउँदैन ।

तपाईंले पूर्वजन्मको कुरा गर्नुभयो । पूर्वजन्म र पुर्नजन्म हुन्छ भन्ने कुरालाई कसरी पुष्टी गर्नुहुन्छ ?

१३ औं शताब्दीका प्रसिद्ध सुफी दार्शनिक रुमीले भनेका छन्, ‘जीवन भनेको रुख जस्तै हो र मृत्यु भनेको त्यहि रुखको पात खसेको जस्तै हो । जसरी पात खस्दैमा रुखको अन्त्य हुँदैन, अझ सुन्दर नयाँ–नयाँ पातहरु पलाएर आउँछन्, त्यस्तै यो शरीरको नष्ट भएपनि त्यहि आत्मा अर्को स्वरुपमा अवतरी हुन्छ ।’ मेरो विचारमा पनि मृत्यु भनेको एक जीवनदेखि अर्को जीवन बिचको मिठो विश्राम हो । पुर्वजन्म वा पूर्नजन्म आजको युगमा एउटा धार्मिक सिद्वान्त मात्र रहेन । यसलाई विश्वका अनेक विश्वविद्यालय एवं परामनोवैज्ञानिक अनुसन्धान केन्द्रहरुले पुष्टी गरिसकेका छन् । वर्तमान समयमा यो अन्धविश्वास नभएर विभिन्न वैज्ञानिक तथ्यद्धारा प्रमाणित भइसकेको विषय हो ।

हाम्रो सोल अर्थात आत्मा माइक्रोट्यूबुल्स भित्र रहेको हुन्छ । यो माइक्रोट्युबुल्स एउटा यस्तो ढाँचा हो जो हाम्रो मस्तिष्क कोश भित्र हुन्छ । जब कुनै जीवको मृत्यु हुन्छ तब हाम्रो मस्तिष्क भित्र रहेको माइक्रोट्युबुल्स आफ्नो क्वानटम अवस्थाबाट हराउँछ । जब जीवको धड्कन बन्द हुन्छ र सास लिन छाड्छ तब माइक्रोट्युबुल्स भित्र रहेको आत्मा शरीरलाई छाडेर पुनः ब्रमान्डमा बिलीन हुन्छ । यसरी त्यसमा निहित क्वाँन्टम सूचनाहरु र जीवनका अनुभवहरु हराउँदैन ।

 

भौतिक विज्ञानको एक नियम ‘ल अफ कन्जरभेसन अफ इनर्जी’का अनुसार यो ब्रमान्डमा निहित कुनैपनि उर्जाको रचना वा विनास गर्न सकिदैन, बरु यो एक रुपबाट अर्को रुपमा परिणत हुन्छ । त्यस्तै आत्मा पनि एक प्रकारको उर्जा हो । जो हाम्रो शरीरलाई संचालन गर्छ, त्यसैले यसको विनाश पनि असम्भव छ ।

यदि पूर्वजन्म हुन्छ भने सबै मानिसलाई यसको आभास पनि हुनुपर्ने होइन र ?

सबैलाई विगतको जीवनको बारेमा सम्झना हुनु हँुदैन । किन कि ब्रमान्ड प्रत्येक जीवनले नयाँ दृष्टिकोणका साथ ताजा अनुभव गरोस् भन्ने चाहन्छ । जसले गर्दा यस जीवनलाई पूर्व जीवनका स्मृतिले प्रभावित गर्न सक्दैन ।

मृत्यु पूर्व वा पछिको संसार त अनुमान मात्र न हो । वर्तमान जीवनकालमै ज्योतिषशास्त्रीय ज्ञानबाट लिन सकिने प्रत्यक्ष फाइदा चाहिँ के हो ?

मृत्यु पूर्व-पछिको जीवनको बारेमा पुराणहरुमा प्रसस्त प्रसंग आएका छन् । यसर्थ, हामी वैदिक सनातनीहरुले यसलाई कल्पनामात्रै हो भन्न मिल्दैन । तर वर्तमान जीवनकालमै ब्रह्मबोध गरी जीवन्मुक्त अवस्थामा पुग्नुपर्छ भन्ने कुरालाई म पनि समर्थन गर्छु । ब्रह्मबोध गर्न ज्योतिषशास्त्रले हामीलाई परमात्मासँग जोड्दै अध्यात्मीक मार्गमा डोर्याउन मद्वत गर्छ । यसको सहायताद्धारा जीवनको परम लक्ष्यको अन्वेषण गर्न र उक्त लक्ष्य प्राप्त गर्न मार्गदर्शन गर्ने काम गर्छ । यसको ज्ञानद्वारा हामी हाम्रो सवल तथा कमजोरीको बारेमा जानकारी लिँदै त्यहीअनुसारको निर्णय लिन सक्छौँ । यो यस्तो विज्ञान हो जसले अध्यारोमा हिँडिरहेका यात्रीका लागी एउटा टर्चलाईटले जस्तै उज्यालो छर्न मद्वत गर्न सक्छ । त्यसैले सही व्यक्तिसँग समयमै आफ्नो कुण्डली विश्लेषण गराउँदा आत्मसाक्षात्कार गर्न सकिने हुँदा प्रत्यक्ष रुपमा आफ्नो कल्याण गर्न सकिन्छ ।

सबैले बुझ्ने भाषामा भन्दा यो कुण्डली के हो र यसले कसरी काम गर्छ ?

वर्तमान जीवन अघिल्लो जन्म÷अतीत कर्मको परिणाम हो । ‘जन्म कुण्डली’ पूर्व कर्मको ‘ब्लूप्रिन्ट’ हो । जन्म कुण्डली वा होरोस्कोप एक गाईड हो, जसले हामीलाई सम्भावनाको आधारमा व्यक्तिको झुकाबको बारेमा बताउँछ । जुन उसको मानसिक विशेषता, उसको स्वास्थ्य, पारस्परिक सम्बन्ध, प्रसिद्धि, धन, सफलता आदिको सन्दर्भमा हुन सक्छ ।

वर्तमान जीवन प्रारब्धको कर्मफल अनुसार निर्धारण हुन्छ भनेर व्याख्या गर्नुभयो । तर अहिले बजारमा केही ज्योतिषीहरु आफूलाई मानिसको भाग्य बदल्ने ज्योतिष भन्दै समस्यामा रहेका मानिसको ध्यान आकर्षण गर्दैछन् । यो सम्भव छ ?
एउटा ज्योतिषले तपाईको जीवन मार्ग, पूर्व कर्मको नतिजा कदापी परिवर्तन गर्न सक्दैन । तर ज्योतिषशास्त्र वा योग्य ज्योतिषीको सहायताले आफ्नो भाग्य स्वीकार गर्न सक्नु हुन्छ वा भाग्यले दिएको क्षमतामार्फत आफूलाई तयार गर्न सक्नुहुन्छ ।

ज्योतिषशास्त्र प्राचिन विज्ञान सँगै गहन विषय पनि हो । तर, पछिल्लो समय यो विधामा प्रविधिको प्रयोग र तपाईंजस्ता युवापुस्ताको आर्कषण बढ्नुको कारण के होला ?

प्राचिन विद्याको रुपमा मानिने ज्योतिषशास्त्र अब ‘हाईटेक’ शैलीमा रुपान्तरण हुँदैछ । नेपाली ज्योतिषहरु प्रविधिमैत्री बन्न थालेपछि ग्रह दशा हेर्न, जन्म कुण्डली तयार पार्न, भविष्यफल बताउन ज्योतिषलाई पाँच मिनेट समय दिए पुग्छ । पछिल्लो समयमा ल्यापटप वा कम्युटरमै बसेर ज्योतिषहरुले तुरुन्तै भविष्यफल बताइदिन सक्ने भएका छन् । प्रविधिको विकासले विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्यापन गराइने ज्योतिषशास्त्रका कोर्षहरु घरमै बसेर अनलाइनको माध्यमबाट सहजै पढ्न पाइने भएको छ । साथै, सफ्टवेयरको प्रयोगले काम गर्न सजिलो र विश्वसनीय बनाएको छ । यर्सथ, ज्योतिष क्षेत्रमा आकर्षण र परिवर्तन आउनुमा प्रविधिको विकास र विस्तार नै प्रमुख कारण हुुन् । ।

ज्योतिषसँगै जोडेर आजभोलि वास्तुशास्त्रको पनि खुबै चर्चा सुनिन थालेको छ । वास्तवमा वास्तुशास्त्रले के व्याख्या गर्छ र यसको अनुसरण गर्नु कत्तिको आवश्यक छ ?

वास्तुशास्त्र वास्तवमा आर्किटेक्चरल विज्ञान हो । जुन निश्चित स्थानको अक्षांस, उचाई, जलवायु, भूमि वरपरको सूक्ष्म उर्जा र मालिकको मनोविज्ञानमा केन्द्रित रही प्रकृतिका पाँचै तत्वहरुको सन्तुलन मिलाई डिजाइन गरिने कलामा आधारित छ । यसैले वास्तु विज्ञान तर्कसंगत र अत्यन्त वैज्ञानिक छ । वास्तु मानिस, भौतिक चिजहरु र प्रकृतिबीचको एक पुल हो जुन व्यवहारीक छ र पछ्याउन पनि सजिलो छ । त्यसैले म सबैलाई वास्तुमा प्रदान गरिएका दिशानिर्देशहरुको अनुसरण गरी घर बनाउन र एक स्वस्थ जीवनको नेतृत्व लिन आग्रह गर्छु ।

ज्योतिषी कर्मलाई विश्वसनीय र प्रभावकारी बनाउन ज्योतिषी र सम्बन्धित निकायले कस्तो भूमिका निभाउनुपर्छ ?

ज्योतिषशास्त्र प्राचिन विज्ञान भइकन पनि आफैमा पूर्ण र विश्वसनीय छँदैछ । तर पनि ज्योतिषी भूमिकाको सन्दर्भमा कुरा गर्दा ज्योतिषशास्त्र एउटा गहन र जटिल विषय भएकाले सर्वप्रथम त लगनशिलताका साथ यसको गहिरो अध्ययन तथा साधना गर्नु आवश्यक छ । त्यसपछि विशुद्ध लोककल्याणको भावनाले, सुक्ष्मोत्तर सूत्रात्मक शैलीमा रहेका यसका वैज्ञानिक पक्षहरुको व्यवहारिक प्रयोग गरी व्यक्ति र समाजलाई सहि मार्गदर्शन गर्नुपर्ने हुन्छ । प्राचिन कालदेखि वेदको तेस्रो आँखाको रुपमा रहेको विज्ञानको रुपमा ज्योतिषशास्त्र स्थापित छ । तर यसको बारेमा जागरण ल्याउन र स्तरबृद्धि गर्नमा सरकारको तर्फबाट कुनै निती तथा कार्यक्रम बनेको छैन । सर्वप्रथम त यसका लागि पहल गर्नु पर्छ । त्यसैगरी ज्योतिषीय अध्ययन, अनुसन्धानका लागि नक्षत्र भवनको स्थापना गरिनुपर्छ र ज्योतिषका पुराना ग्रन्थहरुको समयानुकुल परिभाषाका लागि नेपाली तथा अंग्रेजी भाषामा पुनर्लेखन गरी प्राविधिक विषय जस्तै एकेडेमिक रुपमा पठनपाठन सुरु गरिनु पर्छ ।

अन्त्यमा अहिले फैलिरहेको महामारीका सम्बन्धमा ज्योतिषशास्त्र के भन्छ ?

नेपालको परिपेक्षमा हेर्दा, यस वर्षको जगल्लग्न नै काल सर्पयोग परेको साथै लग्नेश मङ्गल र शनिको मकर राशिमा अङ्गारक युति रहनु र वर्ष सुरु भएको दिन मूल नक्षत्र एवं षष्ठी तिथि पर्दा यमगण्ड नामक योग तथा अन्य नकारात्मक योगहरु परेकाले अनिष्टको सुचना दिइएको थियो । त्यसैले यो वर्ष भरि नै कोभिड १९ मात्र नभएर अन्य रोगका कारण धेरैको ज्यान जान सक्छ । आर्थिक युद्ध, जैविक युद्ध तथा अन्तर्राष्ट्रिय सीमा तनाब बढ्नेछ । उच्च आत्महत्या तथा हवाई दुर्घटना बढ्ने छ । प्राकृतिक प्रकोपद्धारा ठूलो जन–धनको क्षति हुनेछ । सामाजिक विद्रोह हुनुको साथै शासक तथा बौद्धिक क्षेत्रका ब्यक्तिको बुद्धि भ्रष्ट भई अनिर्णयको बन्दी हुनेछन् ।