काठमाण्डु– म्यानमार भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको छ । अप्रिल २८ मा गएको ७.७ रेक्टर स्केलको भूकम्पमा परी १८ नेपालीको मृत्यु भएको हो ।
म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार भूकम्पमा परी १५ जना बेपत्ता भएका छन् ।
नेपालले बिहीबार म्यानमार सरकारलाई राहत सामग्री हस्तान्तरण गर्ने क्रममा राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिए।
‘भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ’, राजदूत घिमिरेले भने।
यस्तै, यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए। राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन्।
म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएका छन् । नेपाली सेनाको चिकित्सकको टोलीले विगत ७ दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ।
नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेका छन् भने ८ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ।
भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन्।
प्रतिक्रिया