सेनाले ‘कू’ गरेपछि जागिरै छाडेर भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी

सेनाले ‘कू’ गरेपछि जागिरै छाडेर भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी


काठमाण्डु – सेनाले ‘कू’ गरेपछि म्यानमारका प्रहरी भारतमा शरणार्थी बन्न आएको खुलासा भएको छ । सेनाले सत्ता हत्याएपछि प्रहरीहरू नै शरण माग्दै छिमेकी देश पुगका हुन् ।

म्यानमारले भारतमा पुगेका ८ जना प्रहरीलाई पक्रेर फिर्ता पठाइदिन पत्र पठाएपछि उनीहरू शरण माग्दै आइपुगेको अधिकारीलाई उद्धृत गर्दै ‘द मिजोरम पोष्ट’ले उल्लेख गरेको छ ।

म्यानमारसँग सीमा जोडिएको उत्तरपूर्वी भारतीय राज्य मिजोरमको मिजो गाउँमा ११ प्रहरी र अन्य पाँच जना म्यानमारी नागरिकले शरण लिइरहेको बताइएको छ ।

म्यानमारको सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर आङ सान सूचीलगायत नेतालाई पक्राउ गरेर शासन हत्याएको थियो ।

त्यसयता म्यानमारमा दिनदिनैजसो सैनिक शासनविरूद्ध प्रदर्शनहरू भइरहेका छन् । पछिल्लो समय प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको दमन बढेको छ । अहिलेसम्म ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।

सैनिक शासनको विरोधमा म्यानमारका सरकारी र निजी कम्पनीका कर्मचारीले काम गर्न छोडेका छन् । प्रहरी नै जागिर छोडेर भारतमा शरण माग्न आएको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ ।

शनिबार पठाएको पत्रमा म्यानमारले दुई देशको मित्रता कायम राख्न भारतले ती प्रहरीलाई पक्राउ गरी फिर्ता पठाउनु पर्ने बताएको छ । तर अधिकारीहरूले म्यानमारबाट आएका प्रहरीलाई के गर्ने भन्ने टुंगो लागिनसकेको बताएका छन् ।