काठमाण्डु- म्यान्मारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा ९ नेपालीभाषीको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म् एक हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी अधिकारीहरूले बताएका छन् ।
म्यान्मारको सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा नौजना नेपालीभाषी पनि रहेको बीबीसीले उल्लेख गरेको छ ।
स्थानीय नेपाली साहित्यकारको भनाइ उद्धृत गर्दै राजधानी म्यान्डलेमा एक दाहाल परिवारका ७ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सिम्खडा परिवारका एक र सापकोटा परिवारका एक जना गरी अहिलेसम्म ९ नेपालीभाषीको मृत्यु भएको हो ।
शुक्रवार राति धेरै नेपालीभाषीहरू फेरि भूकम्प आउन सक्ने डरले खुला आकाशमुनि रात बिताएको त्यहाँ रहेका नेपालीभाषीहरूले बताएका छन् ।
भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंसको भयावह दृश्य देखिएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले उल्लेख गरेका छन् ।
त्यस क्षेत्रमा मात्रै सात सय जनाको मृत्यु भएको बताइएको छ । सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपील गरेका छन् । तर जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ ।
विध्वंसकारी भूकम्पपछि उसको छिमेकी भारतले सहायता सामग्री पठाएको छ भने चीनले उद्धारकार्यमा सघाउनका निम्ति १७ सदस्यीय टोली पठाएको त्यहाँको सीसीटीभीले जनाएको छ ।
यस्तै भूकम्पबाट प्रभावित थाईल्यान्डको राजधानी ब्याङ्ककमा पनि राहत तथा उद्धार कार्य जारी छ । भूकम्पले एउटा निर्माणाधीन गगनचुम्बी भवन भत्कँदा दर्जनौँ कामदार पुरिएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किमि टाढा थियो र उक्त भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको थियो ।
थाईल्यान्डबाहेक दक्षिणपश्चिम चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया