सेनाकी मेजर सुलोचना, जो बन्न सक्छिन् नेपाली सेनाको पहिलो महिला प्रधानसेनापति

सेनाकी मेजर सुलोचना, जो बन्न सक्छिन् नेपाली सेनाको पहिलो महिला प्रधानसेनापति


काठमाडौं-नेपाली सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’मा महिला पुग्न सक्ने बाटो मेजर सुलोचना पौडेलले खुलाएकी छन् । उनले सेनाको प्रशासनिक निकायको उपल्लो तहमा पुग्न सक्ने स्टाफ कलेजमा सफलता हात पारेकी छन् ।

नेपाली सेनामा अहिलेसम्म महिलाले नेतृत्व हात पारेका छैनन् । महिला सैनिकको भर्ती नै २०६१ सालदेखि लिन थालेको सेनामा भविष्यमा सुलोचनाले नेतृत्व लिनसक्ने सम्भावना बढेको छ ।

अहिलेसम्म सेनामा रहेका महिलाले यो परिक्षामा भाग लिएका थिएनन् । सुलोचनाले पास हुन्छु भन्ने दृढताले नै भाग लिएकी थिइन् । उनले आफु सफल हुनुलाई एउटा विशाल मौकाका रूपमा लिएकी छन् । ‘एक त सेनामा जागिरे हुनु नै सपना साकार भएको ठानेकी थिएँ, स्टाफ कलेज पास गरिसकेपछि एउटा सुनौलो बाटो खुलेको छ’, उनी भन्छिन् ।

नेपाली सेनाको महिला भर्तीमा पहिलो ब्याच हुन् उनी । अहिले उनी कमान्ड एन्ड स्टाफ कोर्स पनि गरिरहेकी छन् । ‘बच्चै देखि मलाई आर्मीले परेड गरेको देख्दा रमाइलो लाग्थ्यो, म पनि आर्मी बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । जब केटीहरूका लागि पनि अवसर खुल्यो अनि सपना सत्य भएको भान भयो’, उनी भन्छिन्,‘आर्मीको अनुशासन, दृढता र काम गर्ने शैलीले सानैदेखि लोभ्याएको थियो ।’

उनको व्याचमा ७० जना महिलाले भर्ती हुने मौका पाएका थिए । परिवारबाट सँधै सहयोग पाएकी उनी थप्छिन्,‘तालिम गर्दा बुवाआमादेखि अहिले सासुससुरासम्मले मलाई सहयोग गर्नु भएको छ ।’

महिलाका लागि उदाहरणीय बनेकी उनी ठान्छिन्,‘एउटी केटी मान्छे सफल हुनका लागि केहीले रोक्दैन । म केटी हो, सक्तिन भन्ने हिन भावना राख्न हुँदैन ।’

स्टाफ कलेज पास गरेपछि के हुन्छ ?
सैनिक जीवनमा स्टाफ कलेज भनेको युद्धकला पनि मानिन्छ । स्टाफ कलेज पास गर्ने व्यक्ति सेनाको नीतिनिर्माणका लागि योग्य ठानिन्छन् । यसले भविष्यका अन्य तालिमका लागि पनि ठूलो ढोका खोलेको मानिन्छ ।

खासगरी कमाण्डर बन्नका लागि स्टाफ कलेज पास गर्नैपर्छ । यसपछि कम्पनी कमाण्ड, ब्रिगेड कमाण्ड हुँदै पुरै संगठनको कमाण्डका लागि पनि यस्तो व्यक्ति योग्य हुने विश्वभरको सैन्य संगठनको नियम नै छ । बीबीसीको सहयोगमा