काठमाडौँ – नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जंगीअड्डा स्रोतबाट प्राप्त तथ्यांकमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हाराहारी सहयोग भित्रिएको छ ।
नेपालले सैन्य सहयोगका रूपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुंगा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी)लगायतका सामान लिन्छ ।
चीनले ०७२ सालमा नेपाललाई करिब ८० करोड रुपैयाँ बराबरको मेडिकल सामग्री दिएको थियो । त्यही वर्ष ९७ करोडको मोबाइल फिल्ड अस्पताल र एक अर्ब ३१ करोड रुपैयाँको यूएनको शान्ति स्थापनार्थ प्रयोग गर्न एपीसी, टेन्ट र सञ्चारका सामग्री नेपाली सेनाले चीनबाट पायो । ०७४ सालमा एपीसी, ‘चार बाई चार इन्धन’ ट्यांकर र ट्रकहरू सेनाले पायो । जसमा गाडी २०, रेडियो सेट ५१ र वाटर ट्यांकर ३ वटा थिए । त्यसको मूल्य करिब ३ अर्ब ८० करोड थियो । ती सामान सम्झौताको दुई वर्षपछि सन् २०१९ मा चीनबाट नेपाल आइपुगेका थिए ।
यसैगरी, प्रधानसेनापति पूर्णचन्द्र थापाले गत वर्ष चीन भ्रमणका दौरान बेइजिङमा ह्युमन एसिस्टेन्ट र विपद् व्यवस्थापनका लागि भनेर गाडी, ईओडी ९बम डिस्पोज० गर्ने मेसिन, इन्जिनियरको सामग्री, विपद् पर्दा आवश्यक मेडिकल सामग्रीको सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार सेनाले चीनबाट करिब २ अर्ब ४७ करोडको सहयोग पाएको छ । यस्तै, ०७६ सालमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका बेला नेपालले करिब २ अर्ब ४७ करोडको सैन्य सामग्री पाउने सम्झौतामा हस्ताक्षर गरेको छ ।
अमेरिकाले पछिल्ला पाँच वर्षमा करिब ५ अर्ब २३ करोड सहयोग गरेको छ भने केही सहयोगको रकम खुलाएको छैन । ०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा हेभी इक्युप्मेन्ट र एक्रो ब्रिज, ०७६ सालमा हम्बेय मोटरका पाटर््स, गर्त वर्षको एक्रो ब्रिजको पाटर््स र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बनिसकेको एक र बन्न बाँकी रहेको अर्को अंग्रेजी भाषाको ल्याब निर्माण गर्दा लागेको रकम भने खुलाइएको छैन । आजको कान्तिपुर दैनिकमा मात्रिका दाहालले समाचार लेखेका छन् ।
प्रतिक्रिया